काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले यस पटक राम्रा बाहेकका काम गर्दै नगर्ने प्रण लिएको बताएका छन् । शुक्रवार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफूले आफ्नो प्रधानमन्त्रीको तेस्रो कार्यकाललाई ठूलो अग्निपरीक्षाको रुपमा लिएको भन्दै जनताको यो अग्निपरीक्षामा राजनीतिक दलहरु पास भएर देखाउनुपर्ने बताए । उनले विद्यालयको पाठ्यक्रममा नै हस्तकला राखेर पुस्तान्तरण गर्न सरकार लाग्ने पनि बताए । उनले हस्तालालाई शिक्षा क्षेत्रमा प्रवेश गराइ पुस्ता हस्तान्तरणलाई सहज बनाउने र ११ लाख प्रत्यक्ष र परोक्ष सदस्यलाई बढाउँदै लैजाने उद्देश्यका साथ हस्तकला क्षेत्रमा बजेटको व्यवस्थापन हुने प्रतिवद्धता जनाए ।
उनले भने, ‘यो पटक राम्रो काम गर्ने, काम गरेर देखाउने, सकेसम्म भाषण कम गर्ने कोशिष गर्ने, काम धेरै गर्ने, राम्रा काम मात्रै गर्ने, नराम्रा काम गर्दै नगर्ने, गर्न पनि नदिने । त्यो अठोटका साथ म तेस्रो पटक ४४ औं प्रधानमन्त्रीको रुमपा आएको छु । मैले यसलाई ठूलो अग्निपरीक्षा सोचेको छु । जनतमा निराशा र असन्तुष्टि धेर छ । अझै पनि एक पटक मौका दिनुपर्छ भनेर जनताले ठूलो विवेक प्रयोग गरेको देखिन्छ । कसैलाई निषेध पनि गरेका छैनन्, कसैले दम्भ गर्ने छुट पनि दिएका छैनन् । यो राजनीतिक नेताहरुको परीक्षाको घडी हो । राजनीतिक दल, प्रतिनिधि सभालाई जनताले राम्रो अग्निपरीक्षामा राखेका छन्, यसमा पास हुनैपर्छ । विद्यालयको पाठ्यक्रममा नै र विश्वविद्यालयमा पनि हस्तकलाको विषयलाई पुस्ता हस्तान्तरण गर्दा गर्व गर्ने विषय शिक्षा क्षेत्रमा राज्यले नै पाठ्यक्रममा राख्नुपर्छ भन्नेकुरा बिल्कुल सही छ । शिक्षा क्षेत्रमा यसलाई प्रवेश गराएर पुस्ता हस्तान्तरणलाई सहज बनाउने र ११ लाख प्रत्यक्ष, परोक्ष सदस्यलाई बढाउँदै लैजाने उद्देश्यसाथ यसमा बजेटको व्यवस्था गर्नेछौँ ।’
प्रधानमन्त्री दाहालले निजी क्षेत्रलाई राम्रो विश्वासमा नलिकन सरकारले अर्थतन्त्रमा देखापरेका समस्याको समाधान गर्न सम्भव नरहेको पनि बताए । उनले राजनीतिक परिवर्तन भइसकेको र अब आर्थिक क्रान्ति, आर्थिक समृद्धिमा रुपान्तरण गर्नुपर्नेमा आफू प्रयत्नशील रहने बताए ।