काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न भक्तपुरस्थित ओली निवास बालकोट पुगेका छन् । मन्त्रिपरिषद्को पूर्णता, सभामुख चयन लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।
२६ पुसमा प्रतिनिधिसभाबाट विश्वासको मत लिएयता प्रधानमन्त्री प्रचण्ड दोस्रोपटक बालकोट पुगेका हुन् ।
आजको भेटमा ओली–प्रचण्डबीच मन्त्रिपरिषद् विस्तार, राष्ट्रपति र सभामुख निर्वाचनलगायत विषयमा छलफल हुने बताइएको छ । बुधबार सभामुख निर्वाचन हुँदैछ । सत्ता साझेदार दलहरूबाटै सभामुख र राष्ट्रपति बन्ने सम्भावना छ ।
ओलीले आइतबार पनि बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गरेका थिए । सो भेटमा आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना र समसामयिक राजनीतिबारे छलफल भएको थियो ।
प्रचण्ड आज बालकोटमै दिवा भोजपछि फर्किने बताइएको छ ।