logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • भरतपुरमा विद्युतीय तार भूमिगत गरिँदै

    भरतपुरमा विद्युतीय तार भूमिगत गरिँदै

    5.2K
    Shares
    भरतपुरमा विद्युतीय तार भूमिगत गरिँदै

    चितवन । नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा विद्युत् भूमिगतको तथा सुदृढीकरणको काम यही माघ १६ गतेबाट थालनी गर्ने भएको छ । नक्साङ्कन, निरीक्षण,माटो परीक्षणलगायतका काम सम्पन्न भएका छन् ।

    आयोजनाका प्रमुख आनन्द सुवेदीका अनुसार सुरुआती चरणमा आन्तरिक तयारीका कारण काम सुरु गर्न ढिला हुन गएको हो । भूमिगत विद्युतीकरणका लागि आवश्यक सामग्री विदेशबाट ल्याउनुपर्ने भएकाले काममा केही समय लागेको उनले जानकारी दिए ।

    उनले भने, “फिल्डमा काम माघ १६ गतेबाट हुन्छ । अहिले आवश्यक मजदुर र उपकरण तयारी गर्ने काम भइरहेको छ ।” कामको सुरुआत केन्द्रीय बस ट्रमिनल र पुलचोकबाट गरिने उनले बताए ।

    पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत रहेर भरतपुर महानगरपालिकाको पुलचोक–केन्द्रीय बस ट्रमिनल–गोन्द्राङ, केन्द्रीय बस ट्रमिनलदेखि आँपटारीसम्मको विद्युत् लाइन भूमिगत गर्ने काम हुनेछ । रु एक अर्ब २० करोडमा ठेक्का सम्झौता भएको छ ।

    भरतपुर बाइपास सडकको पूरै र छ लेनको पुलचोकदेखि केन्द्रीय बस ट्रमिनलसम्म सबै तार भूमिगत गरिने छ । बसपार्कबाट गोन्द्राङसम्मको ३३ केभिएलाई मात्र पहिलो चरणका भूमिगत गरिने छ । सम्भौतामा काम गर्दा खनिएका सडक मर्मत गर्नुपर्ने उल्लेख भएकाले सडक बिग्रन नपाउने उनले जानकारी दिए । सन् २०२२ जनवरीबाट लागू हुने गरी निर्माणको सम्झौता भएको छ । सन् २०२४ को जनवरीसम्ममा काम सम्पन्न गर्नुपर्ने हुन्छ ।

    भरतपुरका दुई सडक गरी ११ किलोमिटर क्षेत्रमा विद्युत् भूमिगत गर्न लागिएको हो । यो कामको प्राधिकरणका तर्फबाट परामर्शका रुपमा पावर ग्रिड कम्पनीले हेरिरहेको छ । एशियाली बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।

    उक्त आयोजनाको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ १८ गते शिलान्यास गर्नुभएको थियो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भूमिगत विद्युतीकरणको काम अब तीव्र गतिमा हुने बताए । तत्कालीन समयमा चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसदसमेत रहेका अध्यक्ष दाहाल र महानगरको विशेष पहलमा आयोजना यहाँ ल्याइएको थियो । उहाँले यो निर्माण सम्पन्न भएसँगै भरतपुरको सौन्दर्यकरणमा थप टेवा पुग्ने बताए ।

    उनले भने, “यो भरतपुरको गौरवको आयोजना हो, यसलाई सबै मिलेर सफल बनाउनुपर्छ ।” आयोजना सम्पन्न गर्न आवश्यक सहजीकरण महानगरले सुरुदेखि नै गर्दै आएको छ । पटकपटकको प्रयासपछि यो आयोजना भरतपुरमा आएको भन्दै उनले यो काम सम्पन्न भएसँगै महानगरका सहरी क्षेत्रमा विस्तारका लागि पहल गरिने बताए । प्रमुख दाहालले आफ्नो पहिलो कार्यकालमा पर्न सफल भएका गौरवका आयोजनामध्ये यसलाई महत्वपूर्ण आयोजनाका रुपमा लिएको बताए। आयोजना सम्पन्न भएसँगै विद्युत्, टेलिकम, इन्टरनेटलगायतका तारका कारण कुरुप देखिएको सहरी क्षेत्र सुन्दर बन्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend