धरान । धरान उपमहानगरपालिकाले पनि अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन थालेको छ ।
सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन उपमहानगरपालिकाले डोजर चलाएको छ । आइतबार धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर बनाएपछि उपमहानगरले डोजर चलाएको हो ।
ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी अतिक्रमित जग्गा खाली गराइएको नगरप्रमुख हर्क साम्पाङले बताए ।
डोजर चलाउने क्रममा सुरक्षाकर्मी र स्थानीयबासिन्दा बीच झडप भएकाे छ । झडप हुँदा उपमहानगरको डोजरको सिसा फुटेका छन् भने केही व्यक्ति सामान्य घाइते भएको प्रहरीको भनाइ छ ।
धरान ५ मा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर निर्माण गरेको भन्दै धरान उपमहानगरपालिकाले आज (आइतबार) बिहान मुना चौधरी लिम्बूले बनाएको घर भत्काएको हो । उपमहानगरले घर निर्माण नगर्न पत्राचार गर्दा समेत अटेर गरी घर निर्माण गरेको आरोप लगाएको छ ।