काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ । सोमबार विहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टीका शीर्ष नेताको बैठकले सबै दलको सहयोग लिएर राष्ट्रपतिमा उम्मेदवारी दिन निर्णय गरेको हो ।
प्रवक्ता प्रकाशशरण महतले भने, ‘कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ । राष्ट्रपतिमा सबै दलको सहयोग लिएर अगाडि बढ्ने निर्णय भयो ।’
कांग्रेसले राष्ट्रपतिको निर्वाचन समयमै गर्नुपर्ने बताएको छ । कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले कुनै कानुनी अड्चन छ भने त्यसलाई हटाएर समयमै निर्वाचन गर्न सरकारको ध्यानाकषर्ण गराएको हो ।
प्रवक्ता महतले भने, ‘ऐनमा एक महिना अगाडि भन्ने व्यवस्था छ, ५ वर्षको अवधि पनि भनिएको छ । त्यहाँ भएको कन्ट्राडिक्सनलाई टुंग्याएर समयमै निर्वाचन गर्ने काम सरकार र निर्वाचन आयोगको छ ।’