
काठमाडौं । सरकारको नेतृत्व लिएको नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमती खोज्न पहल गर्ने निर्णय गरेको छ ।सत्ता साझेदार दलहरुबीच राष्ट्रपति एमालेलाई दिने सहमतीकाबीच माओवादी केन्द्रको शुक्रबार बसेको पार्टी स्थायी कमिटीले बैठकले सो निर्णय गरेको हो । एमालेसहितका दलहरुसँग बसेर राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमती खोज्न पहल गर्ने निर्णय गरिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।
बैठकमा धेरैजसो नेताहरुले राष्ट्रिय सहमतीमै राष्ट्रपति चयन गर्नुपर्ने धारणा राखेकाले पार्टीले पनि सोही अनुसार अघि बढ्ने नीति लिएको उनको भनाई थियो । उपाध्यक्ष महराले भने, ‘राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमती कायम गर्ने धेरै कमरेडहरुको आवाज आएको छ । राष्ट्रिय सहमती कहाँ हुन्छ ? राष्ट्रिय सहमती खोज्ने हाम्रो नीति छ । राष्ट्रिय सहमती हुन्छ कि हँदैन ? त्यो बाँकि छ । तर हाम्रो मत भने त्यो हो । एमालेसहितको राष्ट्रिय सहमतीमा जाने हो । त्यसमा एमालेलाई धोका दिने भन्ने हुँदै होइन । राष्ट्रिय सहमती कायम गर्न पहल गर्ने हो ।’
आजको बैठकमा उपाध्यक्ष महराले पार्टी एकतासम्बन्धि प्रतिवेदन, उपमहासचिव जनार्दन शर्माले पार्टीको संगठनसम्बन्धि प्रतिवेदन र अर्का उपमहासचिव गिरिराजमणि पोखरेलले पार्टीको स्कुलिङसम्बन्धि प्रतिवेदन पेश गरेका थिए ।
पार्टी एकतासम्बन्धि प्रतिवेदनमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग पार्टी एकताका लागि संस्थागत रुपमा वार्ता प्रक्रिया अघि बढाइएको उल्लेख गरिएको छ । त्यसैगरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पनि एकताका लागि व्यक्तिगत रुपमा पहल सुरु गरिएको कुरा प्रतिवेदनमा उल्लेख गरिएको उपाध्यक्ष महराले बताए ।
महराले भने, ‘आजको बैठकमा खास गरेर तीन जना कमरेडहरु मैले पार्टी एकता सम्बन्धि प्रतिवेदन पेश गरेँ । त्यसपछि जनार्दन शर्माले संगठन सम्बन्धि प्रतिवेदन र गिरिराजमणि पोखरेलले स्कुलिङ सम्बन्धि प्रतिवेदन पेश गर्नु भयो । र, हिजो अध्यक्षले पेश गर्नु भएको प्रतिवेदन र यी सबै विषयमा आज २७ जना कमरेडहरुले आ–आफ्नो मत राख्नु भयो । छलफल गर्नु भयो । अन्त्यमा अध्यक्ष कमरेडले महासचिवको नेतृत्वमा उपमहासचिवहरुको टिमलाई पार्टीका केन्द्रिय सदस्यहरुको कार्यविभाजनको ठोस योजना ल्याउने गरी पर्सी १६ गते ११ बजे फेरी बैठक बोलाइएको छ।’
बैठकले स्थायी कमिटी बैठकमा नेताहरुले उठाएको विषयलाई एकीकृत गर्न र पार्टीका केन्द्रिय कमिटीका नेताहरुको कार्यविभाजनको ठोस प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङको नेतृत्वमा उपमहासचिवहरुको टीमलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ । हिजोबाट सुरु भएको माओवादी केन्द्रको स्थायी समिति बैठक पर्सी १६ गते आईतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend