logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • परराष्ट्रमन्त्री पौड्यालसँग भारतीय विदेश सचिव क्वात्राको भेटवार्ता

    परराष्ट्रमन्त्री पौड्यालसँग भारतीय विदेश सचिव क्वात्राको भेटवार्ता

    2.1K
    Shares
    परराष्ट्रमन्त्री पौड्यालसँग भारतीय विदेश सचिव क्वात्राको भेटवार्ता

    काठमाडौं । परराष्ट्र मन्त्री डा विमला राई पौड्यालसँग भारतका विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो ।

    भेटमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै विकास सहायता अभिवृद्धि गर्नेलगायतका विषयमा छलफल भएको मन्त्री डा पौड्यालले जानकारी दिइन् । उनले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ अन्तर्राष्ट्रिय हवाईरुटका सम्बन्धमा समेत छलफल भएको बताइन्।

    मुख्यगरी नेपालमा विकास सहायता वृद्धि गर्ने, लगानीको वातावरण बनाउने, कनेक्टिभिटी, द्विपक्षीय व्यापारमा देखिने समस्या हल गर्ने, विद्युत् व्यापारलगायतका विषयमा छलफल भएको थियो ।

    भेटमा मन्त्री पौड्यालले जलवायु परिवर्तनका मुद्दामा अन्तर्राष्ट्रिय मञ्चमा दक्षिण एसियाका मुलुकको एउटै आवाजका लागि संयन्त्र बनाउने सम्बन्धमा समेत कुरा राखेकी थिइन् ।

    भारतका विदेश सचिव क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज यहाँ आएका हुन् । नेपाल आएलगत्तै उनि सचिवस्तरीय बैठकमा सहभागी भएका थिए ।

    सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो अवसरमा उहाँहरुबीच कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो ।

    विदेश सचिवको कार्यभार सम्हालेपछिको यो उनको पहिलो नेपाल भ्रमण हो । दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकता अनुरुप यो भ्रमण भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend