काठमाडौं । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्ध वार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा सभालाई जानकारी गराएका छन् ।
मंगलवार बसेको राष्ट्रिय सभाको बैठकमा मन्त्री पौडेलले आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्ध वार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा सभालाई जानकारी गराएका हुन् । सो क्रममा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले बजेटको मध्यावधि समीक्षा नगरे बजेट कार्यान्वयनमा झनै धेरै चुक्ने स्पष्ट पारे ।
मन्त्री पौडेलले भन्सुनका आधारमा योजना छनोट गर्ने जमानाको अन्त्य भएको बताएका छन् । उनले नेपालमा अब भन्सुनका आधारमा योजना छनोट नहुने दाबी गरे । मन्त्री पौडेलले योजनाहरु आवश्यक्ताका हुन् वा होइनन् भन्ने कुराको अध्ययन गरेर मात्रै डिपिआर बनाउने, अरु युटिलिटीका कामहरु सकिसकेपछि आयोजनालाई कार्यान्वयनमा लैजाने विषयको प्राथमिकीकरण गरेर कार्यान्वयनमा जाने कुरामा सरकार प्रतिवद्ध रहेको बताए ।
उनले अझैपनि प्रदेश र स्थानीय तहका योजनाहरु संघको सूचिमा रहेको भन्दै संघीयता अनुसारको बजेट कार्यान्वयन हुनुपर्नेमा जोड दिए । मन्त्री पौडेलले वर्तमान सरकार भन्सुनको आधारमा बजेट विनियोजन गर्ने अभ्यासलाई सम्पूर्ण रुपमा समाप्त गर्न औचित्य, आवश्यक्ता र प्राथमिकताका आधारमा बजेट कार्यान्वयनको प्रक्रियालाई अघि बढाएर आयोजना छनोटको प्रक्रियालाई अघि बढाउन संकल्पवद्ध रहेको स्पष्ट पारे ।