logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपालका वैदिक परम्परा तथा उपचार विधिहरुको संरक्षण गर्नु हाम्रो कर्तव्य : राष्ट्रपति भण्डारी

    नेपालका वैदिक परम्परा तथा उपचार विधिहरुको संरक्षण गर्नु हाम्रो कर्तव्य : राष्ट्रपति भण्डारी

    2.4K
    Shares
    नेपालका वैदिक परम्परा तथा उपचार विधिहरुको संरक्षण गर्नु हाम्रो कर्तव्य : राष्ट्रपति भण्डारी

    दाङ । राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृत ज्ञानको प्रवाहलाई संरक्षण गर्दै आयुर्वेद, योग, प्राकृतिक चिकित्साविधि एवं वास्तु शास्त्रीय विषय आधुनिक शैलीबाट अध्यापन गराउने वातावरण मिलाउन नेपाल संस्कृति विश्वविद्यालयलाई आग्रह गरेकी छिन् ।

    राष्ट्रपति भण्डारीले ऋषिमुनिहरुले नासोका रुपमा हामीलाई छोडेर गएका नेपालका वैदिक परम्परा तथा उपचार विधिहरुको संरक्षण गर्नु हाम्रो कर्तव्य रहेको र यसका लागि मुलुकका विश्वविद्यालयहरु पनि लाग्नुपर्नेमा जोड दिइन् ।

    दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयमा निर्माण भएको आयुर्वेद शिक्षण भवन उद्घाटनका लागि आज यहाँ आएकी राष्ट्रपति भण्डारीले भवनको उद्घाटन गर्दै सो धारणा राखेकी हुन् ।

    उनले संस्कृत शिक्षासँग आफ्नो पनि व्यक्तिगत एवं भावनात्मक सम्बन्ध रहेको भन्दै जननेता मदन भण्डारी पनि संस्कृत विधाकै उत्पादन रहेको स्मरण गरिन् । राष्ट्रपति भण्डारीले भनिन्, “संस्कृत वाङ्मयको गहन अध्ययन गरेको हुनाले नै जननेता स्व मदन भण्डारीमा सिर्जनात्मक क्षमता, उच्च नैतिकता, गहन संस्कृति बोध र सच्चा राष्ट्रप्रेमजस्ता विशेष गुण विद्यमान थिए ।”

    दाङ उपत्यका नेपालको ठूलो उपत्यकामध्येको एक रहेको र मानव सभ्यताको विकासमा यसको ठूलो योगदान रहेको स्थानका रुपमा पनि चिनारी रहेको बताउँदै उनले आफू धेरै पटक दाङ आएको बताइन् ।

    नेपाल संस्कृत विश्वविद्यालय दाङमा हुँदा त्यसले दाङको परिचयमा उचाइ अझै थपेको उनले बताइन् । उनले संस्कृत भाषा, वाङ्मय र पूर्वीय सम्भयताको अध्ययन दाङमै हुनु यहाँका नागरिकका लागि सौभाग्यको कुरा भएको बताइन् ।

    राष्ट्रपति भण्डारीले मध्यकालीन समाजका विभिन्न विषयमा जानकारी दिने हजारौँ दुर्लभ ग्रन्थ संस्कृत भाषामा लेखिएकाले तिनबाट अहिलेको र आगामी पुस्ताले लाभ लिन सक्ने वातावरणका लागि विश्वविद्यालयले प्राज्ञिक व्यक्तिहरु उत्पादनमा लाग्नुपर्ने बताइन् ।

    उनले शिक्षण भवन उद्घाटनसँगै यसले आयुर्वेद विषयका कैयौँ स्नातक उत्पादन गर्ने काममा सघाउ पुग्ने विश्वाससमेत व्यक्त गरिन् । उनले विश्वविद्यालयका प्राध्यापक एवं प्राज्ञिक जनशक्तिलाई संस्कृतको ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्ने काममा लाग्न आग्रह गरिन् ।
    उनले आयुर्वेद उपचार पद्धति नेपालको पुरानो उपचार पद्धति भएको र यसलाई कोरोना भाइरसका बेला मानिसहरुले अवलम्बन गरेबाट पनि यसको महत्व विश्वमै बढेको स्पष्ट पारिन्। पूर्वीय सभ्यता मात्रै नभई संसारको साझा सम्पत्तिका रुपमा आयुर्वेदलाई लिने गरिएको उनको भनाइ थियो ।

    आयुर्वेद, योग, ध्यानलगायत मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित अनेकौँ उपचार पद्धतिको खोज अनुसन्धानका लागि पनि संस्कृत विश्वविद्यालय क्रियाशील हुनुपर्ने उनको सुझाव थियो ।

    राष्ट्रपति भण्डारीले नेपालीको पहिचान, स्वाभिमान, सम्मान र निजत्वको खोजी गर्नुपर्ने भन्दै यसको नेतृत्व विश्वविद्यालयसहित अन्य प्राज्ञिक संस्थाले लिनुपर्ने बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend