logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • झापामा विद्यार्थीलाई आत्मअनुशासन र संस्कार सिकाउने अभियान

    झापामा विद्यार्थीलाई आत्मअनुशासन र संस्कार सिकाउने अभियान

    2K
    Shares
    झापामा विद्यार्थीलाई आत्मअनुशासन र संस्कार सिकाउने अभियान

    झापा ।  झापाकाे हल्दीबारी गाउँपालिकामा धर्म, संस्कृति, नैतिकता र संस्कार पढाउन २५ स्थानमा संस्थागतरुपमै अनौपचारिक कक्षा सञ्चालन भइरहेका छन् ।

    जनकल्याण प्रतिष्ठान एकल अभियान नेपालले जिल्लाको भद्रपुर, शिवसताक्षी नगरपालिका, अर्जुनधारा नगरपालिका, विर्तामोड नगरपालिका र हल्दीबारी गाउँपालिकामा एकल विद्यालय अभियानअन्तर्गत विद्यालय जाने उमेरका बालबालिकालाई त्यस्तो कक्षामा सहभागी गराउँदै आएको छ ।

    विद्यालयमा औपचारिक शिक्षा पाइरहेका विद्यार्थीलाई उनीहरुको बिहान र बेलुकाको उपयुक्त समय मिलाएर संस्कारयुक्त शिक्षा प्रदान गर्न एकल विद्यालय अभियान सञ्चालन गरिएको जनकल्याण प्रतिष्ठान एकल अभियानका जिल्ला अध्यक्ष शङ्कर भट्टराईले बताए ।

    जिल्लाका २५ वटै कक्षाका लागि अध्ययन गर्ने स्थान, कापी, किताब र शिक्षकको व्ययभार प्रतिष्ठानले बेहोर्दै आएको उनले जानकारी दिए। प्रतिष्ठानले शिक्षकलाई मासिक पारिश्रमिक दिँदै आएको छ ।

    एकल विद्यालयमा विद्यार्थीलाई ध्यान र योग सिकाउनुका साथै मातापिता र अग्रजलाई गरिने आदर व्यवहारका बारेमा संस्कारयुक्त ज्ञान दिइने गरिएको अभियानका शिवसताक्षी प्रमुख पीताम्बर बरालले बताए ।

    नैतिकता, संस्कार, भाषा, गणित, सामान्य ज्ञान, विज्ञान, हस्तशिल्प, स्वास्थ्य र शारीरिक शिक्षासमेत एकल विद्यालयमा पढाइने उनले जानकारी दिए । प्रतिष्ठानका जिल्ला अध्यक्ष भट्टराईका अनुसार २७ वर्ष पहिले धादिङको एउटा गाउँमा २८ विद्यार्थी पढाएर नेपालमा एकल विद्यालय अभियान प्रारम्भ भएको थियो । अहिले देशभर ४६ जिल्लाका पाँच सय एक गाउँमा यस्तो संस्कार सिकाउने कक्षा सञ्चालन भइरहेका छन् ।

    एकल विद्यालयमा अध्यापन गर्ने शिक्षकलाई आर्थिक स्रोतको अभावमा पर्याप्त पारिश्रमिक दिन नसकिएको उनले बताए । एउटा कक्षा सञ्चालन गर्न वार्षिक न्यूनतम रु ३६ हजार अतिरिक्त खर्च हुने गरेको बताइएको छ ।

    शिवसताक्षीको वडा नं ४ का वडाध्यक्ष विष्णु प्रसाईंले एकल अभियानको कक्षामा नियमित जाने विद्यार्थी नैतिक अनुशासन र संस्कार पालनामा उदाहरणीय हुने गरेकामा प्रशन्नता प्रकट गरे।

    “मातापिता र अग्रजप्रति कसरी राम्रो व्यवहार गर्ने कुरा नानीबाबुले एकल विद्यालयमा सिक्न पाएका छन्”, वडाध्यक्ष प्रसाइँले भने, “योग र धर्मको आधारभूत ज्ञान पाउँदा उनीहरुमा विनम्रताको विकास हुँदोरहेछ भन्ने अभिभावकले पनि बुझ्नुभएको छ ।”


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend