logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • लोकभजन जोगाउन पोखरामा ‘भजन महोत्सव’

    लोकभजन जोगाउन पोखरामा ‘भजन महोत्सव’

    3.5K
    Shares
    लोकभजन जोगाउन पोखरामा ‘भजन महोत्सव’

    गण्डकी । प्राचीन संस्कृति र परम्परासँग गाँसिएको लोकभजन जगेनार्थ पोखरामा भजन महोत्सव सुरु भएको छ । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानले महोत्सव आयोजना गरेको हो । नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा शनिबारदेखि राष्ट्रव्यापी भजन चुड्का प्रतियोगिता सुरु गरिएको हो ।

    प्रतियोगितामा देशभरबाट ३२ भजन समूहले सहभागिता जनाएको प्रतिष्ठानका सदस्य सचिव डा तुलसीराम खनालले जानकारी दिए । भजन महोत्सवसँगै बृहत् ज्ञान महायज्ञको शुभारम्भ बिहीबार गरिए पनि प्रतियोगिता शनिबारदेखि सुरु भएको हो ।

    लोपोन्मुख अवस्थामा पुगेका लोकभजनको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको सदस्य सचिव डा. खनालले बताए । प्रतिष्ठानका अध्यक्ष प्रजापति पुराजुलीले धार्मिक गीतका रुपमा प्रचलित भजन लोप हुन नदिन प्रतिष्ठानले महोत्सव, प्रतियोगितालगायत संरक्षणका काम गर्दै आएको बताए।

    नेपाली भजन संस्कृतिमा राष्ट्रव्यापी रुपमा नयाँ जागरण ल्याउन आफूहरु लागिपरेको उनको भनाइ छ । ‘महोत्सवले लोकभजनको उत्थान र जगेर्नामा टेवा पुग्छ, नयाँ पुस्ताले भजनबारे बुझ्ने मौका पाउँछन्’, अध्यक्ष पराजुलीले भने ।

    कुनै ताका मठ, मन्दिर, पूजापाठ र कर्मकाण्डमा खुम्चिएको लोकभजनले पछिल्लो मेला, महोत्सवमा ठाउँ लिन थालेको छ । प्रतिष्ठानले यसअघि पनि पोखरामै भजन महोत्सव गर्दै आएको थियो । बागलुङलगायतका जिल्लामा पनि भजन महोत्सव हुने गरेका छन् । समाज आधुनिक बन्दै जाँदा भजन जस्ता परम्परागत गीत, कला र संस्कृति हराउने चिन्ताबीच संरक्षण अभियान अघि बढेको हो । भजनले मानिसलाई आत्मिक शान्ति दिने र सत्मार्गमा लाग्न प्रेरित गर्ने बागलुङस्थित जैमिनी सङ्कीर्तन समूहका अध्यक्ष टेकबहादुर क्षत्रीले बताए ।

    इश्वरीय कथा, गाथा, भगवान्को गुणगान र वर्णन गरेर भजन गाउने गरिएको उनको भनाइ छ । उक्त समूह पनि यसअघि विभिन्न ठाउँमा हुने भजन प्रतियोगितामा भाग लिएर पुरस्कृत भएको छ । लोकभजनमा बढीजसो ईश्वरीय महिमा र पौराणिक कथा अभिव्यक्त गर्ने गरिन्छ । प्रतियोगितामा सहभागी हुने भजन समूहले गायनसँगै भगवान् शिव, कृष्ण चरित्रदेखि रामायण, महाभारत आदिका कथाभावलाई अभियनमा उतार्ने गरेका छन् ।

    धर्म, सभ्यता र संस्कृतिसँगै सामाजिक विषयलाई समेत उठान गरेर भजन गाउने गरिएको कलाकार बताउँछन् । मौलिक संस्कृतिको ज्ञान र शिल्प नयाँ पुस्तामाझ पुर्‍याउन पनि धार्मिक मेला, महोत्सव र प्रतियोगिताले सघाउने आयोजकको विश्वास छ । प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार, द्वितीयलाई ३१ हजार, तृतीयलाई २१ हजार र सान्त्वनालाई ११ हजार पुरस्कार राखिएको छ । उत्कृष्ट  झाँकी, वेशभूषा, नाच आदिलाई पनि  नगद पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

    आउँदो चैत २ गतेसम्म चल्ने ज्ञान महायज्ञ एवं भजन महोत्सवमा आध्यात्मिक गुरु गुरु चैतन्य कृष्णले भागवत् वाचन गरिरहेका छन् । महोत्सवबाट सङ्कलित रकम प्रतिष्ठानको केन्द्रीय कार्यालय भवनमा निर्माण खर्च गरिने जनाइएको छ । महोत्सवमा रएक करोड आम्दानी र ३५ लाख ४४ हजार खर्च हुने आयोजकको अनुमान छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend