logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • दश महिनापछि लाम्पाटा–दरवाङ सडक निर्माण सुरु

    दश महिनापछि लाम्पाटा–दरवाङ सडक निर्माण सुरु

    3.1K
    Shares
    दश महिनापछि लाम्पाटा–दरवाङ सडक निर्माण सुरु

    म्याग्दी । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (लाम्पाटा–दरवाङ) खण्डका ठेकेदार १० महिनापछि काममा फर्किएका छन् । विसं २०७९ वैशाखदेखि रोकिएको म्याग्दीको लाइफ लाइन मानिएको सो सडक निर्माणको काम यसै महिनादेखि सुरु भएको हो ।

    गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत सञ्चालित सडक निर्माणमा भएको ढिलाइले यात्रुलाई सास्ती भएको थियो । ठेकेदार कम्पनी बिरुवा–क्याराभानका आधिकारिक प्रतिनिधि सोमनाथ थकालीले रणवाङमा नाली र पर्खाल निर्माणको काम तीव्रगतिका साथ भइरहेको बताए ।

    “बर्खा, चुनाव, नदीजन्य निर्माण सामग्रीको अभावले नियमित काम गर्न समस्या भयो”, उनले भने, “आठ किलोमिटरमध्ये लाम्पाटाबाट तोलावाङसम्मको करिब चार किलोमिटर सडक चालु आर्थिक वर्षभित्रै कालोपत्र गर्ने लक्ष्यसहित उपकरण, मजदुर परिचालन र निर्माण सामग्री जुटाएका छौँ ।”

    मङ्गला गाउँपालिकाको लाम्पाटाबाट मालिकाको केन्द्र दरवाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न विसं २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच रु २२ करोड ५७ लाख नौ सय ३२ मा ठेक्का सम्झौता भएको थियो । विसं २०७८ जेठमा सकिनुपर्ने सडक निर्माणको भौतिक प्रगति ५५ प्रतिशत छ । आगामी २०८० असारसम्म म्याद थपिएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताए ।

    “जमानी बसेको बैंकलाई पत्राचार गरेर जमानत जफत र कारबाहीको प्रक्रिया थालेपछि बल्ल काममा आएका छन्”, उनले भने, “पर्याप्त मजदुर, उपकरण परिचालन गरेर सडक निर्माणलाई तीव्रता दिन ताकेता गरेका छौँ ।”

    सो खण्डमा पर्ने बाङ्गेपहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ । ताकेता र दबाबपछि १० महिनादेखि रोकिएको काम सुरु भएपछि अधुरो, अधकल्चो हिलाम्मे र धुलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्ने आशा गरेको मङ्गला गाउँपालिका–२ रणवाङका श्रीराम पौडेलले बताए ।

    स्थानीयवासीले पूर्वाधार विकास कार्यालय, जिल्ला प्रशासन, प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर), गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जाली, प्रदेश सांसद हरिबहादुर भण्डारी, विमला गौचनमार्फत दबाब दिएका थिए । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने यो सडक विसं २०६३ मा मार्ग खुलेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend