logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रतिनिधि सभा बैठकको शुन्य समय : कुन सांसदले के भने ?

    प्रतिनिधि सभा बैठकको शुन्य समय : कुन सांसदले के भने ?

    2.9K
    Shares
    प्रतिनिधि सभा बैठकको शुन्य समय : कुन सांसदले के भने ?

    काठमाडौं । प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले जनजिविकाको विभिन्न विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका छन् । आईतवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणको काममा भइरहेको ढिलाईको विषय उठाएका छन् भने जनजीविकाको सन्दर्भमा विभिन्न विषयहरु पनि उठाएका छन् ।

    प्रतिनिधि सभा सदस्य भानुभक्त जोशीले गत वर्षको बेमौसमी वर्षाका कारण सुदूरपश्चिम प्रदेशमा भएको जनधनको क्षतिको हालसम्म राहत पाउन नसकेका बताए । उनले बाढी, पहिरोबाट क्षति भएका पीडितहरुलाई तत्काल राहतको व्यवस्था गर्न माग गरे ।

    प्रतिनिधि सभा सदस्य महेशकुमार बर्तौलाले सरकारले मलमा मूल्यवृद्धि गरेको भन्दै त्यसको बिरोध गरे । उनले मलको मूल्यवृद्धि गरेर सरकारले किसानमाथि ज्यादती गरिरहेको बताए । उनले सुकुम्वासीहरुले हालसम्म जग्गाधनी पुर्जा पाउन नसकेका भन्दै त्यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

    प्रतिनिधि सभा सदस्य माधव सापकोटाले वि.सं. २०७१ साल साउन १७ गते सिन्धुपाल्चोकको जुरेमा गएको पहिरो पीडितहरुलाई दिने भनिएको राहत रकम हालसम्म जिल्ला विपद व्यवस्थापन समितिको खातामै रहेको भन्दै सो रकम फुक्का गरी पीडितलाई नगदै वितरण गर्न माग गरे ।

    प्रतिनिधि सभा सदस्य मंगलप्रसाद गुप्ताले सहकारी संस्थाहरुलाई राष्ट्र बैंकले नियमन गर्नुपर्ने बताए । सहकारीलाई नियमन गर्न नसकेमा सर्वसाधारणको अर्बौं रुपैयाँ डुब्ने उनले उल्लेख गरे ।

    प्रतिनिधि सभा सदस्य योगेशकुमार भट्टराईले ताप्लेजुङ जिल्लाको पाथिभरा क्याम्पसमा आज स्ववियु निर्वाचनको दिन अनेरास्ववियुका विद्यार्थीमाथि सांघातिक हमला भएको र स्ववियु निर्वाचनमा धाँधली भएको बताए । सत्ताको आडमा निष्पक्ष र धाँधलीरहित स्ववियु निर्वाचन हुन नसकेको बताए ।

    प्रतिनिधि सभा सदस्य रघुजी पन्तले धुर्मुस, सुन्तलीले चितवनमा बनाउन शुरु गरेको क्रिकेट रंगशाला सरकारले बाँकी रकम तिरेर आफैँ बनाउनुपर्ने बताए । त्यस्तै मुलपानीको रंगशाला पनि बनाउनुपर्ने उनले बताए ।

    प्रतिनिधि सभा सदस्य रणकुमारी बलम्पाकी मगरले सिन्धुली जिल्लामा कमला नदीले जमिन कटान गरिरहेको भन्दै वैज्ञानिक किसिमले तटबन्धनका लागि बजेट छुट्याउन सरकारसँग माग गरिन् । त्यस्तै जनता आवास कार्यक्रमलाई निरन्तरता दिन पनि उनले माग गरिन् ।

    प्रतिनिधि सभा सदस्य रणेन्द्र बरालीले फागुन २२ गते सिरहाका भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले आफ्नो माताको श्रद्धाञ्जली कार्यक्रममा शुद्ध भोज कार्यक्रममा जाति र धर्मको आधारमा छुवाछुतजन्य व्यवहार गरेको भन्दै गम्भिर सामाजिक अपराध मानि कारबाही गर्न सरकारसँग माग गरे ।

    प्रतिनिधि सभा सदस्य रमा कोईराला पौड्यालले संविधानले योगदानमा आधारित सामाजिक सुरक्षालाई श्रमिकको मौलिक हकको रुपमा लिएको भन्दै सबै प्रतिष्ठानहरु सूचिकृत गरी मौलिक हकको कार्यान्वयन गर्न अनुरोध गरिन् ।

    प्रतिनिधि सभा सदस्य राजकिशोर यादवले लाखौँ युवाहरु नागरिकता बिहिन भएकाले सामान्य जीवनयापन गर्न समेत नसकिरहेका बताए । उनले नागरिकता सम्बन्धी समस्या कहिले समाधान हुन्छ भनि प्रश्न गरे । त्यस्तै सरकारले मलमा दिदैँ आएको अनुदान कटौति भएको प्रति पनि उनले विरोध जनाए ।

    प्रतिनिधि सभा सदस्य रामहरी खतिवडाले देशमा क्रिकेट खेल मैदानको व्यवस्था गर्न सरकारसँग अनुरोध गरे । त्यस्तै किसानले मल समयमै पाउने र अनुदान पाउने व्यवस्था गर्नपनि सरकारसँग माग गरे । उनले सभामुखले पत्रकार विक्रिमा छन् भन्ने अभिव्यक्ति दिएर प्रेस स्वतन्त्रतामाथि आघात परेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराए ।

    उनले भने, ‘सम्माननीय सभामुखले पत्रकार बिक्रीमा छन् भन्ने अभिव्यक्ति दिएर चर्चामा हुनुहुन्छ । व्यवस्थापिकाको प्रमुखले नै यस्तो अभिव्यक्ति दिदाँ प्रेस स्वतन्त्रतामाथि परेको आघातको बारेमा सोचिएको छ कि छैन ? त्यतातिर पनि ध्यान जाओस् ।’

    प्रतिनिधि सभा सदस्य रुपा सोसी चौधरीले कर्णाली नदी टिकापुर बस्तीमा छिर्ने सम्भावना भएकाले कर्णाली नदी नियन्त्रणमा ध्यान दिन सरकारलाई आग्रह गरिन् ।

    प्रतिनिधि सभा सदस्य रोशन कार्कीले सहकारी र लघुवित्तको चर्को व्याजका कारण लाखौँ मानिसहरु सुकुम्वासी हुने अवस्था आएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

    प्रतिनिधि सभा सदस्य लिलानाथ श्रेष्ठले सरकारले मल र दुधको मुल्य वृद्धि गरेको भन्दै बिरोध गरे । उनले सरकार जनताप्रति उत्तरदायि बन्न नसकेको बताए ।

    उनले महंगि बढीरहेको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend