काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ फास्टट्रयाकमा पास गर्नुपर्ने बताएका छन् । आईतवार प्रतिनिधि सभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद यादवले सो विधेयकलाई समितिमा नलगि संसदभित्र छलफल गरी फास्टट्रयाकमा पास गर्नुपर्ने बताएका हुन् ।
उनले यसलाई पास गर्न निकै ढिलो भएको भन्दै अझै ढिलो गरेमा दुर्घटना हुने बताए । विधेयकलाई संसदभित्रै छलफल गरेर टुंग्याउनुपर्ने उनले बताए ।
उनले भने– ‘यो महत्वपूर्ण कुरा हो । यसलाई फास्टट्रयाकमा नै लानुपर्छ । समितिमा जानुपर्दैन । संसदभित्र नै छलफल गरेर, संसदभित्र बाट नै फाष्टट्रयाकमा पास गर्नुपर्छ । ढिलो गर्यो भने दुर्घटना हुन्छ । त्यसकारण यसलाई चाँडै सकाउनुपर्छ र संसद भित्र नै छलफल गरेर टुंग्याउनुपर्छ ।’
उनले गठबन्धनभित्र संघ र प्रदेश सरकारको भागबन्डाका साथसाथै संवैधानिक पदहरुमा नियुक्तिको विषय पनि प्याकेजमा टुग्यांउनुपर्ने बताए ।