logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • साइपालमा दुई सय १६ मेगावाटको जलविद्युत् निर्माण हुँदै

    साइपालमा दुई सय १६ मेगावाटको जलविद्युत् निर्माण हुँदै

    1.4K
    Shares
    साइपालमा दुई सय १६ मेगावाटको जलविद्युत् निर्माण हुँदै

    बझाङ । साइपाल गाउँपालिका–४ धुली क्षेत्रमा समृद्धि इनर्जी लिमिटेडले दुई सय १६ मेगावाटको जलविद्युत् परियोजना निर्माण गर्ने तयारी गरेको छ । ‘बझाङ माथिल्लो सेती जलविद्युत् आयोजना’ निर्माणका लागि कम्पनीले वातावरणीय प्रभाव मूल्याङ्कनको (ईआइए) सार्वजनिक गरी रामुखोलामा बन्ने विद्युत्गृह र सेती–इङ्गल्दारको दोभानमा बाँध बन्ने ठाउँमा प्रारम्भिक परीक्षणका काम गरिरहेको छ ।

    आयोजना संयोजक विश्वनाथ कँडेलका अनुसार अहिले सुरूवाती काम भइरहेको छ । “आयोजना अन्तर्गत वातावरण प्रभाव मूल्याङ्कनको मस्यौदामाथि सार्वजनिक सुनुवाइ, पानीको सुरूङमार्गका लागि माटो, ढुङ्गा परीक्षणका साथै अन्य प्रारम्भिक काम भइरहेकोे छ”, उनले भने ।

    प्रारम्भिक अध्ययनका लागि आयोजनास्थल र साइपाल गाउँपालिका सडक सञ्जालमा नजोडिएको हुँदा परीक्षण गर्ने सामग्री तथा उपकरण पनि हेलिकप्टरमार्फत् ढुवानी गरेर काम गरिरहेको छ ।

    जलविद्युत् आयोजना साइपाल–४ धुलीको सेती नदी र इङ्गल्दार खोलाको सङ्गमबाट करिब एक सय ५० मिटर तल सेती नदीमा ३९ मिटर लामो र १३ दशमलव चार मिटर उचाइको बाँध बनाइ सुरूङमार्फत् विद्युत् गृहमा पानी पठाउने र विद्युत् निकाल्ने कम्पनीका इञ्जिनियर सुधीर देवकोटाले बताए ।

    देवकोटाका अनुसार धुलीमा ईआइएबारे सार्वजनिक सुनुवाइ गरेपछि कम्पनीले हाल बाँधस्थल र विद्युत्गृहस्थलमा नियमित अध्ययन गरिरहेको छ ।

    स्थानीयवासीद्वारा स्वागत

    आफ्नो ठाउँमा जलविद्युत् आयोजना बन्ने भएपछि स्थानीय उत्साहित भएका छन् । जिल्लाको सबैभन्दा अग्लो ठाउँमा ठूलो विद्युत् बनेपछि सबै पूर्वाधारमासमेत विकास हुने भन्दै उत्साहित भएका हुन् । धुलीका कपिल बोहराका अनुसार आयोजनाले साइपालको समृद्धि, विकास र जनताको जीवनस्तर सुुधार हुने अपेक्षा स्थानीयवासीले गरेका छन् ।

    “ठूलो जलविद्युत् बन्नु भनेको विकासको मूल फुट्नुजस्तै हो,” बोहराले भने, “यति ठूलो आयोजना बनेपछि सडक बन्छ, भौतिक पूर्वाधार पनि बन्छन् । स्थानीयवासीलाई रोजगारी मिल्छ । जमिनको पनि उचित मूल्य पाइन्छ ।”

    साइपाल–४ का सोनाम तामाङले पनि जलविद्युत् आयोजना निर्माण हुँदा साइपालवासीको मुहार फेरिनेमा विश्वास व्यक्त गरे ।

    निर्माण कम्पनीका अनुसार बझाङ माथिल्लो सेती जलविद्युत् आयोजना निर्माणका लागि रु ४१ अर्ब ६४ करोड ६० लाख लाग्ने अनुमान गरिएको छ । जसमा ७० प्रतिशत अर्थात् २९ अर्ब निर्माण कम्पनीले विभिन्न बैंकमार्फत् लगानी जुटाउनेछ भने ३० प्रतिशत अर्थात् १२ अर्ब रूपैयाँ सर्वसाधारणको हुनेछ । कम्पनीका अनुसार विसं २०९० सम्ममा आयोजनाको निर्माण पूरा भएर बिजुली उत्पादन हुनेछ ।

    वन कति मासिन्छ ?

    आयोजना निर्माण हुने ठाउँ इङ्गल्दार र सेती खोलाको वरिपरी ५८ दशमलव १५ हेक्टर वन नोक्सान हुनेछ । निर्माण कम्पनीको इञ्जिनीयर सञ्जिव बुढाथोकीका अनुसार सामुदायिक २८ दशमलव ८० सरकारी र १२ दशमलव ५५ सामुदायिक वन गरी ४१ दशमलव २५ हेक्टर वन स्थायी संरचनाका लागि मासिनेछ ।

    एक दशमलव ४० हेक्टर सरकारी र १५ दशमलव ४० सामुदायिक वन गरी १६ दशमलव ८० हेक्टर अस्थायी संरचनाका लागि वन मासिने बुढाथोकीले बताउनुभयो । परियोजना निर्माणका क्रममा मासिने रूख बिरूवाको सट्टामा ५४ हजार बिरूवा वरिपरि रोपिने कम्पनीले जनाएको छ । धुलीमा ईआइए सार्वजनिक गर्दै बुढाथोकीले भने, “वन नियमावली २०७९ अनुसार क्षति पुग्ने वन क्षेत्रको सट्टा ५३ हजार छ सय ७० बिरूवा निर्माण कम्पनीले लगाउने र संरक्षण गर्नेछ ।”

    वातावरणीय प्रभाव अभिवृद्धि तथा विभिन्न सीप विकासका तालिमका लागि रु २३ लाख ९० हजार र प्रभाव न्यूनीकरणका लागि दुई करोड १० लाख विनियोजन गरेको उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend