logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • नेपाल प्रहरी र सन्राइज बैंकबीच छात्रवृत्ति सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

    नेपाल प्रहरी र सन्राइज बैंकबीच छात्रवृत्ति सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

    2.3K
    Shares
    नेपाल प्रहरी र सन्राइज बैंकबीच छात्रवृत्ति सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

    काठमाडौं । नेपाल प्रहरी र सन्राइज बैंक लिमिटेडबीच ‘नेपाल प्रहरी– सन्राइज बैंक छात्रवृत्ति’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएकाे छ । समझदारीपत्रमा नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमबीच हस्ताक्षर भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले समझदारीपत्र आदान प्रदानसमेत गरे ।

    समझदारीपत्रमा नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र सन्राइज बैंकको तर्फबाट बैंकका नायव महाप्रबन्धक रबिन कुमार नेपालले हस्ताक्षर गरेका थिए ।

    कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सम्झौताको लागि सन्राइज बैंकलाई धन्यवाद दिँदै सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरीसँग जोडिएर सहकार्य गर्ने, प्रहरी काम कारवाही लगायत अन्य कल्याणकारी कार्यक्रमहरूमा सहजिकरण र सबलिकरण गर्ने प्रयासमा सनराइज बैंकले गरेको समन्वय प्रशंसनीय रहेको बताए ।

    प्रहरी महानिरीक्षक कुँवरले सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको मनोबल उच्च हुने चर्चा गर्दै आगामी दिनमासमेत नेपाल प्रहरी र बैंकबीच आपसी सहयोग आदान प्रदान हुने अपेक्षा व्यक्त गरे ।

    उक्त अवसरमा सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले नेपाल प्रहरीले आमनागरिकलाई सुरक्षित जिवनयापन र सुरक्षाको प्रत्याभूती दिन गरेको योगदान र भूमिका प्रशंसनीय रहेको बताए । यस सम्झौताले नेपाल प्रहरीका विभिन्न स्कुलमा अध्ययनरत प्रहरी कर्मचारीका सन्ततिहरूलाई थप हौसला र प्रेरणा मिल्नुका साथै नेपाल प्रहरी र सन्राइज बैंकबीचको सम्बन्धमा अझै प्रगाढ हुँदै जाने उनले विश्वास व्यक्त गरे ।

    आगामी शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौता अनुसार नेपाल पुलिस स्कुल सामाखुशी काठमाडौं, धरान सुनसरी, गरूडा रौतहट, शान्तिपुर चितवन, बेलचौतारा तनहुँ, घोराही दाङ, वीरेन्द्रनगर सुर्खेत र धनगढी कैलाली समेत गरी ८ वटा नेपाल पुलिस स्कुलहरूका कक्षा ४ देखि १२ सम्म अध्ययनरत १५ जना विद्यार्थीहरूलाई जम्मा ९ वर्ष सम्मको अध्ययनको लागि छात्रवृत्ति रकम प्रदान गरिने छ ।

    शैक्षिक सत्र २०८० देखि नेपाल पुलिस स्कुलहरूमा अध्ययन गर्ने प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका प्रहरी कर्मचारीहरूको जेहेन्दार छात्र–छात्राहरूलाई वार्षिक शुल्क, परीक्षा शुल्क र स्टेशनरी खर्च समेत गरी एकमुष्ठ छात्रवृत्ति रकम प्रदान गरिने छ ।

    कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरू लगायत सन्राइज बैंक लिमिटेडका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend