logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • हिउँदे बाली भित्र्याउन चटारो

    हिउँदे बाली भित्र्याउन चटारो

    1.9K
    Shares
    हिउँदे बाली भित्र्याउन चटारो

    दाङ । कोही खेतबारीमा गहुँ काटिरहेका छन्, कोही घरमा चना, मुसुरो दाइँ लगाइरहेका छन् भने कोही टाउकामा तोरी बोकेर घरतर्फ ल्याइरहेका देखिन्छन् । यहाँका किसानलाई अहिले हिउँदे बाली भित्र्याउन चटारो छ ।

    किसानका खेतबारीमा पुग्दा तोरी, गहुँ, मुसुरो, चनालगायत बाली भित्र्याउन चटारो परेको देखिन्छ । बाली भित्र्याउने समयमा पानी परेपछि भने किसान चिन्तित छन् ।

    तुलसीपुर उपमहानगरपालिका–१५ पहरुवाकी कमला बस्नेतले अहिले एक्कासि परेको पानीका कारण अन्नबाली जोगाउन समस्या भइरहेको बताइन् । “बाली भित्र्याउने बेला भएको थियो, एक्कासि पानी परेकाले समस्या बनाएको छ”, उनले भनिन् ।

    केही दिनअघि परेको बर्सातले बाली भित्र्याउन नपाएका किसान अझै पनि आकाश पूर्ण रूपमा सफा नहुँदा चिन्तित छन् । “हिउँदभरि स्याहार गरेर जोगाएको अन्न पानीले कुहिने हो कि भन्ने डर छ”, किसान प्रमिला चौधरीले भनिन् । उनले आफ्ना छ महिनाको मेहनत कुहिन्छ कि भन्ने चिन्ता लागेको बताइन् ।

    दाङ तोरी उत्पादनका लागि उपयुक्त वातावरण भएको जिल्ला मानिन्छ । यहाँ दुई याममा तोरी खेती गरिँदै आइएको छ । करिब १७ हजार हेक्टर क्षेत्रफलमा बर्सेनि २५ हजार मेट्रिक टन तोरी उत्पादन हुने दाङस्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    दङ्गीशरण, शान्ति नगर र बवईलगायत क्षेत्रमा तोरी खेती हुने गरेको छ । जिल्लामा १२ हजार हेक्टरमा गहुँ खेती हुँदा ३० हजार मेट्रिक टनको हाराहारीमा उत्पादन हुने गर्छ । केन्द्रका अनुसार २७ हजार छ सय हेक्टर जमिनमा मुसुरो खेती हुने गरेकामा करिब २० हजार एक सय मेट्रिकटन उत्पादन भइरहेको छ । यहाँ बर्सेनि विभिन्न दुई दर्जन खाद्य बालीको खेती हुने केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend