काठमाडौँ । पछिल्लो समय वित्तीय साक्षरतालाई बैंक तथा वित्तीय संघ/संस्थाहरुले विशेष प्राथमिकताका साथ अगाडि बढाइरहेका छन् ।वित्तीय साक्षरता कार्यक्रममा पनि डिजिटल वित्तीय साक्षरताको प्रसंगले अझ बढी महत्वपूर्ण स्थान ओगट्दै गएको छ । वित्तीय साक्षरता, डिजिटल वित्तीय साक्षरता, बैंकिङ्ग सुरक्षा लगायत सनराइज बैंकका गतिविधिमा केन्द्रित रहेर सनराईज बैंकका नायव-महाप्रबन्धक रबिन कुमार नेपालसँग सुनौलो नेपालले गरेको अर्थ–संवादको सम्पादित अंश हामीले यहाँ प्रस्तुत गरेका छौँ ।
पछिल्लो समय ग्राहकहरुका लागि वित्तीय साक्षरता भनेर आइरहेको छ । वित्तीय साक्षरता भनेको हो ? वित्तीय साक्षरताका लागि वास्तवमा सनराईज बैंकले के–के काम गरिरहेको छ ?
वित्तीय साक्षरता भनेको खासमा ग्राहकहरुले बैंकहरुसँग लिने सेवासुविधाहरुको बारेमा पूर्णरुपले जानकारी पाउनु हो । बैंकले धेरै खालको सेवासुविधाहरु दिएको हुन्छ । त्यसको बारेमा ग्राहक अनविज्ञ हुन सक्छन् । जानकार नहुन सक्छ । त्यसका बारेमा बैंकले जानकारी दिने काम वित्तीय साक्षरता हो । त्यसैगरी रकमलाई कसरी बैंकमा राख्ने, आफूसँग भएको सानो–सानो बचतलाई कसरी बचत गर्ने, बैंकसँग ऋण–कर्जा सुविधा लिँदा कस्तो खालको ऋण कर्जा सुविधा लिन, लिएको पैसा प्रयोग गर्दा कसरी सदुपयोग गर्ने भन्ने खालको सामान्य जानकारी बैंकले दिन्छ । त्यसैलाई हामी वित्तीय साक्षरता भनेर भन्छौँ ।
अहिले त वित्तीय साक्षरतामा पनि विशेषगरी डिजिटल वित्तीय साक्षरताको चर्चा बढी नै सुनिन्छ, यसको बारेमा स्पष्ट पारिदिनुस् ।
विगत केही समयदेखि बैकहरु डिजिटल बैंकिङ्ग क्षेत्रमा रुपान्तरण हुँदै गइरहेका छन् । यो निरन्तर चलिरहने प्रक्रिया हो, एकैचोटी सबै हुनेकुरा पनि होइन । जुन हिसाबले प्रविधिको विकास भइरहेको छ, त्यही हिसाबले ग्राहकहरु प्रविधिसँग साक्षात्कार नभएका हुन सक्छन् । ग्राहकलाई प्रविधिको बारेमा थाहा नहुनसक्छ । प्रविधिको प्रयोग कसरी गर्ने पनि थाहा नहुन सक्छ । त्यो सँगसँगै त्यसको सुरक्षाका उपायहरु के कस्ता छन् भन्ने पनि थाहा हुँदैन । त्यसैले बैंकको उत्तरदायित्वकाे रुपमा ग्राहकलाई प्रविधिको प्रयोग गर्न प्रोत्साहित गर्ने सँगसँगै प्रविधि कसरी सुरक्षित तवरले प्रयोग गर्नुपर्छ र प्रविधि प्रयोग गर्दा हुने जोखिमको बारेमा पनि बताउनुपर्ने हुन्छ । त्यसको लागि हामीले वित्तीय साक्षरतासँगसँगै डिजिटल साक्षरता र डिजिटल सचेतना जगाउनेखालका कुराहरु पनि गर्छौँ । अहिले हामीसँग भुक्तानीका माध्यमहरु धेरै छन्, त्यसमध्ये डिजिटल भुक्तानीको प्रयाेग हाल बढ्दै गइरहेकाे छ । डिजिटल भुक्तानीका माध्यमहरु प्रयोग गर्न सजिलो छ तर यसमा अपनाउनुपर्ने सुरक्षाको बारेमा पनि ग्राहकहरुले थाहा पाउनुपर्ने हुन्छ ।
अहिले धेरै डिजिटल बैकिङ्ग सम्बन्धि ठगी घटनाहरु नेपाल लगायत विदेशमा पनि देखिएको छ । डिजिटल बैँकिङ्ग सेवा, सुविधा प्रयोग र यसमा अपनाउनुपर्ने सावधानीबारे ग्राहकहरुले सामान्य जानकारी पाएभने उनिहरु आफ्नो पैसाको सुरक्षा र अनावश्यक झमेलाबाट जोगिन सक्दछन् ।
यसको लागि बैँकले ग्राहकहरुलाई जब कार्ड, मोबाइल बैँकिङ्ग जस्ता सेवाहरु प्रदान गर्छ त्यतिखेर नै यसको प्रयोग कसरी गर्ने भन्नेबारे जानकारी पनि दिन्छ । यसका अलावा उनिहरुलाई जानकारी दिने हेतुले विभिन्न माध्यमहरुमार्फत कार्यक्रमहरु गरिन्छ । जस्तै जनचेतनामूलक भिडियो सामाग्री निर्माण र प्रसारण, भेला र समारोह, अडियो भिजुअल माध्यम र सामाजिक सञ्जालमार्फत प्रवाह गरिने विभिन्न सन्देशहरु आदि । यस्ता जनचेतनामूलक सामाग्री र कार्यक्रममा सन्राइज बैँकको सक्रियता त छदै छ । हामीसँगै अन्य बैँक तथा वित्तीय सँस्थाहरुले पनि यस्ता कामलाई प्राथमिकता दिँदै आएका छन् । यो डिजिटल सचेतना अभियानमा सम्पूर्ण बैँक वित्तीय संस्था, नियामक निकाय, मिडिया, सरकारको प्रभावकारी भूमिका त छदै छ साथसाथै ग्राहकहरुले पनि अलि सचेत भएर कसरी प्रयोग गर्ने, कसरी सुरक्षित हुने भन्नेबारे चाँसो देखाउन जरुरी छ । बैँकहरुले कसरी सुरक्षित हुने भन्ने बारेका विभिन्न सामाग्रीहरु बनाएर आफ्नो वेवसाइटमा राखेका हुन्छन् । साथै बैँकले ग्राहकहरुका समस्या बुझ्न टोल फ्री नम्बरको समेत व्यवस्था गरेको छ ।
डिजिटल बैँकिङ्ग सजिलो छ, सुरक्षित छ र भरपर्दाे छ, यसको उचित प्रयोग र सावधानीका सामान्य चिजहरु पालना गरे पुग्छ ।
पछिल्लो समय निक्षेपकर्ताहरुको आकर्षणको केन्द्र बन्दैगएको सनराइज बैंकले वित्तीय साक्षरतालाई कसरी अगाडि बढाइरहेको छ ?
वित्तीय साक्षरतालाई हामीले हाम्रो उत्तरदायित्वको रुपमा लिएका छौँँ । यसको लागी हामीलाई केन्द्रीय बैंकले निर्देशन पनि दिएको हुन्छ । भर्खरै हामीले ग्लोवल मनि विक मनाएका थियौँ । त्योबेलामा हामीले वित्तीय साक्षरताका कार्यक्रम गर्यौँ । हामीसँगसँगै अरु बैंक/वित्तीय संस्थाहरुले पनि गरेका थिए । हामीले यो सप्ताहको अवधिमा विभिन्न शाखाबाट एक सय कार्यक्रमहरु गर्यौँ । यसपालीको कार्यक्रमहरु स्कुल, कलेज र त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर गरेका थियौँ । आजको विद्यार्थीले भोली गएर बैंकिङ्ग सेवासुविधा प्रयोग गर्छन् । उनीहरुले प्रयोग गर्ने भनेकै डिजिटल सेवासुविधा हाे । त्यसकोबारेमा उनिहरुलाई हामीले पहिले नै जानकारी दियौँ, बचतको बारेमा भन्यौँ, कर्जाकाे बारेमा भन्यौँ, बैकिङ्ग कारोबार गर्दा के–के सुविधाहरु हुन्छ भन्ने खालको कुरा गर्यौ, बैंकमा किन खाता खोल्नुपर्छ भन्ने खालको कुरा गर्यौँ भने त्यसले उनिहरुलाई बैंकिङ्गसम्बन्धि काम गर्न सजिलो हुन्छ । आज हामीसँग भएका विद्यार्थी भोली कोही जागिरमा हुनसक्छन्, काेही उद्यमी बन्न सक्छन्, कोही बैदेशिक रोजगारमा जान सक्छन् भने कसैले आफ्नै व्यापार/व्यवसाय गर्न सक्छन् । भाेली जुन पेसामा आवद्द भएपनि याे साक्षरताले उनिहरुलाई भविष्यमा वित्तीय काम गर्न कहीँ न कहीँ अवस्य सहयोग गर्छ । त्यसैले यसपालि हामीले स्कुल, कलेजलाई विशेष लक्षित गरेर ७ वटै प्रदेशमा सयवटा कार्यक्रम गरेका हाैँ ।
यस कार्यक्रमकाे उपलब्धी पनि हामीलाई राम्रै भए जस्ताे लाग्छ । किनभने हामीले विद्यार्थीहरुको प्रतिक्रिया लिँदा यस कार्यक्रमले समग्र समाजमै सकारात्मक प्रभाव पार्छ, यस्ताे शिक्षा हामीले लिन अतिआवश्यक रहेछ, त्यसले हामी र हाम्राे परिवारकाे जिवनकाे आर्थिक पाटाे सजिलाे र सुरक्षित बनाउन मद्दत गर्ने देख्याैँ । यो कार्यक्रमको बारेमा हामी हाम्रा अभिभावकलाई समेत जानकार गराउँछौँ भनेका छन् ।
यस्ता खालका सुरक्षा चुनौतीलाई छिचोल्न सनराईज बैंकको आन्तरिक सुरक्षालाई कसरी अगाडि बढाइरहनुभएको छ ?
मैले अघिपनि यसबारे अलिकति भनिसकेँ । ह्याकर भनेका बैंक भन्दा अथवा प्रविधि बनाउने भन्दा जहिले पनि एक कदम अगाडि हुन्छन् । यद्यपी, हामी सुरक्षित छौँ । हामीले त्यस्ताखालका सुरक्षा चुनौतीहरुसँग सामना गर्ने किसिमले हाम्रा सेवासुविधा बनाएका छौँ । हाम्रा पूर्वाधारहरु सुरक्षाको प्रत्याभूति दिने किसिमले विकास गरेका छौँ । हामीले डिजिटल साक्षरता कार्यक्रममा पनि यसबारे जानकरी दिँदै आएका छाैँ । बैंकले पठाएको ओटिपी (one time password) कसैलाई दिनु हुँदैन, आफ्ना ग्राहकका विवरण बैँकसँगै हुने हुँदा बैंकले कहिले पनि खाता नम्वर लगायत तपाईकाे गाेप्य विवरण माग्दैन ।
बैंकले कहिल्यै पनि ग्राहकको खाताको जानकारी ग्राहकसँग माग्दैन, अनि चिठ्ठा पर्यो भनेर बैंकले भन्दैन । यहाँ त के हुन्छ भने ठगले चिठ्ठा पर्यो भन्छ, जब कि ग्राहकले चिठ्ठा काट्दै काटेको हुँदैन । नकाटेको चिठ्ठा पर्छ ? त्यो बारेमा नि जानकारी हुँदैन । विदेशमा बसेको मान्छे मर्यो त्यसको फिक्स डिपोजिट थियो, त्यसको फिक्स डिपोजिटको पैसा तपाईलाई पठाउन लागेको भनेर भन्छ । आफ्नै आफन्तले त सित्तैमा दुई पैसा दिदैन, विदेशमा बसेको मान्छेले पैसा दिन्छ र ? त्यो खालको भ्रम हामी कहाँ छ । अब कसैले पैसा दिन्छु भनेपछि मान्छेलाई लोभ पलाउँछ । त्यसले गर्दा आफ्ना सम्पूर्ण खाताको जानकारी ग्राहकले दिन्छन् । त्यो जानकारी पाइसकेपछि ह्याकरले त्यस खातालाइ आफ्नो नियन्त्रणमा लिन्छन् । नियन्त्रणमा लिएपछि आफूखुशी त्यसलाई चलाउँछन् । त्यस्तोखालको प्रवृत्ति भइराखेको छ । त्यही प्रवृत्ति रोक्नलाई नै हामीले डिजिटल साक्षरताको कामहरु गरिरहेका छाैँ । यसको लागि हामीले विभिन्न माध्यम अपनाएका छौँ । कति त हामीले सोसल मिडियाबाट पनि दिन्छौँ । किनभने सबै ठाउँ सबैतिर प्रत्यक्ष रुपमा पुग्न सम्भव हुँदैन ।
यसैगरी हाम्रा शाखाका साथीहरुले सेवा लिदाँखेरी पनि जानकारी गराउनु हुन्छ । विभिन्न ठाउँमा गएर प्रत्यक्ष उपस्थित भएर पनि यो बारेमा जानकारी गराउँछौँ । यसको अलावा हामीले केही साना–साना अडियो/भिडियोहरु बनाएका छौँ, र त्यसलाइ सामाजिक सञ्जाल, एफएम लगायतका ठाउँबाट प्रसारण गर्ने गर्दछाैँ ।
अहिले मानिसलाई लामो भिडियो हेर्ने फुर्सद पनि छैन त्यसैले सानो सानोे भिडियो बनाएर सूचना दिन सजिलो हुन्छ । भर्खरै मात्रै हामीले कुशल नामक टेलिफिल्म नेपाल प्रहरीसँगको समन्वयमा बनाएका छाैँ । समाजमा घटेका विभिन्न सत्य घटनाहरुको अध्ययन गरि बनाइएको उक्त भिडियोमा समाजमा बैँक र बैँकिङ्ग ठगी कसरी भईरहेको छ । मान्छेमा हुने लोभ र अरुलाई आँखा चिम्लेर आफ्नो वित्तीय कारोबारको जिम्मा दिएर के हुन सक्छ भन्ने यथार्थ चित्रण, रमाइलो र मनोरञ्जनात्मक हिसाबले प्रश्तुत गरिएको छ । उक्त भिडियो हाम्रो सामाजिक सञ्जाल, ओएसआर मिडिया लगायत नेपाल प्रहरीले आफ्नो प्रहरी साझेदारी कार्यक्रम मार्फत देशैभरी देखाउने जनाएको छ ।
सनराईज बैंकले आमसञ्चारका माध्यम बढी प्राथमिकतामा राखेको देखिन्छ । पछिल्लो समय सनराईज बैंक मिडिया मैत्री बन्दै गएको हो ?
वित्तीय साक्षरता जगाउने सवालमा हामी मिडियामा, कतै टक सो मा भाग लिएर हुन्छ कि तपाईहरुजस्तै यस्तै खालका जानकारीमूलक कार्यक्रम गरेर हुन्छ, ग्राहकहरुलाई जनचेतना अभिवृद्धि गर्न सन्देश दिइरहेका हुन्छौँ । मलाई लाग्छ सबैको प्रयास यसरी नै रह्यो भने ग्राहकहरु सु–सूचित हुनुहुनेछ । सनराईज बैंक पहिले पनि मिडिया मैत्री नै थियो अहिले पनि मिडिया मैत्री नै छ । हाम्रो ग्राहक संख्या राम्रो छ । हामीले डिजिटल कार्यक्रमहरुमा प्राथमिकता दिएका छौँ । मोबाइल बैंकिङ्ग, कार्डका प्रयोगकर्ता थुप्रै हुनुहुन्छ । मलाई खुसी लाग्छ, किनभने हामी प्रविधिमैत्री मात्र नभएर ग्राहक मैत्री पनि भएका छौँ । जसले गर्दा हाम्रा सेवासुविधाहरु धेरै ग्राहकले रुचाउनु भएको छ ।
सन्राइज बैँकले विभिन्न नयाँ प्रोडक्टहरु पनि बजारमा ल्याई रहन्छ जस्तै नेपालमै पहिलो पल्ट मिस्डकलबाट विजुलीको पैसा तिर्ने सुविधा पहिलो पटक र हालसम्म हामीले मात्र दिइरहेका छौँ । कार्डमा फोटो प्रिन्ट गर्ने सुविधा, कार्डलेस विथड्रवल ट्याप एन्ड पे जस्ता डिजिटल बैँकिङ्गका विभिन्न सेवाहरु हामीले दिँदै आएका छौँ, र यस्ता कुरा मिडियामार्फत भन्दै पनि आएका छौं ।
वित्तीय संस्थाहरुले लिने सेवाशुल्कको बारेमा पनि प्रश्न उठ्ने गर्छ, सनराईज बैंकले यसलाई कसरी निर्धारण गरिरहेकोे छ नि ?
सेवाशुल्क त बैंकहरु आफैँले निर्धारण गर्न पाउँछन् । त्यसमा केन्द्रीय बैंक(राष्ट्र बैंक) को केही निर्देशन पनि छ । शुल्क भन्दापनि सेवा सबैभन्दा पहिले दिनुपर्यो नि । हामी पुराना बैंक भन्दा केही पछि स्थापना भयौँ तर जतिपछि आएको हो प्रविधिमा उसले उति नै राम्रो गर्छ जस्तो मलाई लाग्छ। किनभने त्यसमा काम गर्ने मान्छेहरु नयाँ हुन्छन् । प्रविधिको बढी जानकार हुन्छन् । त्यसले गर्दा पनि नयाँ बैंकले राम्रो गरिरहेका छन् । राम्रै गर्छ भन्ने मलाई लाग्छ ।