काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले संसद राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताएका छन् । बुधवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले संसद राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताएका हुन् ।
उनले राजसंस्थाले २४० वर्षसम्म जनतालाई प्रताडित गरेको भन्दै जनतालाई प्रताडित गर्ने संस्थाको जबर्जस्ती पैरवी गर्ने थलो संसद नभएको बताए । उनले संसदलाई राजसंस्थाको पैरवी गर्ने थलोको रुपमा जनताले नमान्ने बताए ।
सांसद दाहालले संसद विज्ञापन एजेन्सी पनि नभएको स्पष्ट पारे । उनले कोही हराएको विज्ञापन संसदमा गर्नु नहुने बताए । उनले संसदमा अमर्यादित, अशिष्ट र अराजक वहसहरु हुने गरेका भन्दै संविधानको जगमा उभिएर वहस गर्न सांसदहरुको ध्यानाकर्षण गराए ।
उनले भने, ‘यो सदनमा अहिलेसम्म जसरी विषयवस्तु उठान भएका छन् र वहस भएका छन् । यि वहसहरु अलि अमर्यादित छन् । अशिष्ट छन् । अराजक छन् । मैले पटक–पटक उठाउँदै आएको छु । कमसेकम संविधानको जगमा उभिएर हामीले वहस गर्नुपर्छ । छलफल गर्नुपर्छ । संसद विज्ञापन एजेन्सी संस्था होइन, कहीँ विज्ञापन गर्न पाइदैन । कोही हराएको विज्ञापन गर्ने कुरा, कोही पछाडी फर्किएर प्रतिगामी कोणबाट २४० वर्षसम्म जनतालाई प्रताडित गर्ने संस्थाहरुको जबर्जस्ती पैरवी गर्ने थलोको रुपमा पनि संसदलाई जनताले पत्याउँदैनन् र मान्दैनन् । यहाँ वहस जसरी उठेका छन् कमसेकम विचार केन्द्रित भएर, राष्ट्रिय स्वार्थसँग केन्द्रित भएर हामीले हाम्रा वहसहरुको उठान गर्नुपर्छ भन्ने विषयमा सदनको ध्यानाकर्षण गराउन चाहन्छु ।’
उनले देशमा अर्बौंको काठ आयात भइरहेको भन्दै काठ आयातलाई रोकेर देशकै काठ प्रयोग गर्ने उपयुक्त वातावरण बनाउनुपर्ने बताए । उनले सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा युरिया मल कारखाना छिटोभन्दा छिटो सञ्चालन गर्न पनि सरकारलाई आग्रह गरे ।