logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न मुस्किल

    राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न मुस्किल

    1.3K
    Shares
    राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न मुस्किल

    भजनी । चालु आर्थिक वर्षमा कैलालीको सत्ती भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न मुस्किल देखिएको छ । भन्सार कार्यालयको मासिक राजस्व सङ्कलनको अवस्था हेर्दा लक्ष्यको आधा रकम पनि सङ्कलन नभएको देखिएकाले चालु आर्थिक वर्षमा लक्ष्य भेटाउन मुस्किल पर्ने देखिएको हो ।

    भन्सार कार्यालयले चालु आर्थिक वर्ष सकिन तीन महिना बाँकी रहँदा चैत मसान्तसम्म पाँच करोड ३१ लाख ६८ हजार एक सय ८७ अर्थात् कूल लक्ष्यको ३१ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ । भन्सारले १६ करोड ९४ लाख ४१ हजार राजस्व सङ्कलनको लक्ष्य लिएको थियो । लक्ष्य पूरा गर्नका लागि भन्सार कार्यालयले बाँकी रहेको तीन महिनामा ११ करोड ६२ लाख ७२ हजार आठ सय १३ रुपैयाँ राजस्व सङ्कलन गर्नुपर्ने देखिन्छ ।

    भन्सार कार्यालयका निमित्त प्रमुख तुलसीराम थारुले चालू आर्थिक वर्षमा राजस्वको लक्ष्य भेटाउन मुस्किल रहेको बताए। ‘चैतसम्म कूल राजस्वको ३१ प्रतिशत मात्रै सङ्कलन भएको छ । अब तीन महिनामा त्यस्तो कुनै चमत्कार नै भन्न सकिँदैन, नभए यस वर्ष लक्ष्य पूरा हुँदैन’, उनले भने, ‘अहिलेको आर्थिक मन्दीका कारण राजस्व सङ्कलनमा गिरावट आएको हो । दिनभर भन्सार सुनसान हुँदा राजस्व कसरी उठ्छ ?’ उनका अनुसार उठेको राजस्व पनि सबै आयातीत सामानबाट सङ्कलन भएको हो ।

    सत्ती भन्सारबाट निर्यात भने शून्य जस्तै भएको निमित्त प्रमुख थारु बताउँछन्। ‘भन्सारबाट आउने सबैभन्दा बढी भनेको हार्डवयरको सामान हो । त्यसपछि छिटफुट कपडालगायतका सामानको आयात हुन्छ’, थारुले भने, ‘त्यसबाहेकको सामान आयात निकै कम हुन्छ । तरकारीलगायतका वस्तुको आयातका लागि क्वारेन्टाइन छैन । त्यो भए राजस्व बढ्थ्यो की ?’

    मूल भन्सार कायम भएपछि सत्ती भन्सार कार्यालयले एक वर्षमात्रै लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको देखिन्छ । आर्थिक वर्ष २०७७÷७८ मा भन्सार कार्यालयले एक सय ११ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । उक्त आर्थिक वर्ष भन्सार कार्यालयले १४ करोड २३ लाख ४८ हजार राजस्व सङ्कलनको लक्ष्य पाएकामा १५ करोड ८३ लाख सात हजार नौ सय ७३ राजस्व सङ्कलन गरेको थियो । त्यसभन्दा अन्य कुनै पनि वर्ष लक्ष्यअनुसारको राजस्व सङ्कलन नभएको थारु बताउँछन् ।

    गत आवमा पनि भन्सारले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न सकेन । भन्सारले गत वर्ष पनि २० करोड ५८ लाख ६१ हजारको लक्ष्य लिएकामा १० करोड ६७ लाख ९३ हजार छ सय चार राजस्व सङ्कलन गर्न सकेको थियो । यो लक्ष्य सत्ती भन्सार कार्यालय स्थापनादेखिकै सबैभन्दा बढी हो । आर्थिक वर्ष २०७५/७६ मा मूल भन्सारका रुपमा विकास भएको सत्ती भन्सार कार्यालयले त्यस वर्ष लक्ष्यको ६३ दशमलव २३ प्रतिशत अर्थात् पाँच करोड ६९ लाख ११ हजार छ सय ७३ राजस्व सङ्कलन भएको थियो । भन्सारलाई नौ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिइएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend