logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • अयोग्य लडाकुलाई २ लाख रुपैयाँ दिने कुरा आ.व. २०७३/०७४ कै बजेटमा व्यवस्था भएको होः सांसद सापकोटा

    अयोग्य लडाकुलाई २ लाख रुपैयाँ दिने कुरा आ.व. २०७३/०७४ कै बजेटमा व्यवस्था भएको होः सांसद सापकोटा

    1.1K
    Shares
    अयोग्य लडाकुलाई २ लाख रुपैयाँ दिने कुरा आ.व. २०७३/०७४ कै बजेटमा व्यवस्था भएको होः सांसद सापकोटा

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले अयोग्य लडाकुलाई २ लाख रुपैयाँ दिने कुरा आर्थिक वर्ष २०७३/०७४ को बजेट वक्तव्यमा व्यवस्था भएको बताएका छन् । शुक्रवारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद सापकोटाले तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३/०७४ को बजेट वक्तव्यमा समावेश गरेको कुरालाई नै वर्तमान सरकारले कार्यविधि बनाएको बताएका हुन् ।

    उनले पौडेलले जारी गरेको बजेट वक्तव्यको बुँदा नम्बर १९ अनुसार सरकारले कार्यविधि बनाएको बताए । उनले दुई लाख रुपैयाँले मानिसको गुजारा नचल्ने भन्दै व्यवस्था परिवर्तनका लागि बन्दुक बोकेका लडाकुहरुको हुर्मत लिने काम नगर्न चेतावनी दिए । व्यवस्था परिवर्तनका लागि लडेका लडाकुहरुलाई अपमान गर्ने छुट कसैलाई नभएको उनले बताए ।

    उनले भने, ‘हामी सबैलाई यो वहस गर्नका लागि तिनै लडाकुहरुले लडेर, स्याउला बोकेर र बन्दुक बोकेर ल्याएको व्यवस्था हो । दुई लाख रुपैयाँले मान्छेको केही गुजारा चल्दैन । तर गिरिजाबाबुको टाउको फुटेको कान्तिपुर खोजेर हेर्नुहोस् । चित्रलेखा यादवले नारायणहिटीको अगाडीपट्टी सञ्चालन गरेको संसदको दृश्य सबैले सम्झना गरौँ । तपाईको दुई लाख पैसाले युद्ध लडेर आएका महान लडाकुहरु, योद्धाहरुलाई जसले बिरताको गाथा कोरे, जसले वीरताको संकल्प गरे, जसले यो सिंगै व्यवस्था परिवर्तनका लागि बलिदान गर्नका लागि तयार भए तपाई तिनलाई अपमान गर्ने ? अस्ति भर्खर नारायणहिटी अगाडी गरेका संघर्ष, रत्नपार्क वरिपरिका संघर्ष, गिरिजाबाबुको टाउको फुटाएको कुरा सजिलै बिर्सने ? यही हो राजनीतिक धर्म, यही हो संस्कार, संस्कृति ? म गम्भिरतापूर्वक तपाईहरुलाई भन्न चाहन्छु, दुई लाख ठूलो मूल्य होइन । मानिसहरुको हुर्मत लिने ? अपमान गर्ने ? यो व्यवस्था जसले ल्यायो त्यसैलाई अपमान गर्ने कसैलाई छुट छैन । अयोग्य लडाकुको विषय जे उठेको छ, व्यवस्थापिका संसदको बैठक २०७३ जेठ १५ गतेको शनिवार अर्थमन्त्री विष्णु पौडेलेले आर्थिक वर्ष २०७३, ०७४ को बजेट वक्तव्यमा व्यवस्था गरिएको थियो । पुरानै बजेट वक्तव्य र अदालतको परिपत्र अनुसार अहिलेको सरकारले कार्यविधि विकास गर्न खोजेको हो । म स्पष्ट पार्न चाहन्छु, माननीय विष्णु पौडेलकै नेतृत्वमा ल्याइएको बजेट, नीति तथा कार्यक्रम, बजेट वक्तव्यको १९ नम्बरको बँुदा, अदालतले गरेको परिपत्र अनुसार कार्यविधि बनाउनका लागि मात्रै सरकारले अगाडी लगेको छ । सिंगै सदन र देशलाई भ्रमित बनाउने बदनाम तुल्याउने जे काम गरिएको छ, म यसतर्फ ध्यानाकर्षण गराउन चाहन्छु ।’

    उनले वर्तमान सरकारले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिन लागेको भन्दै संसद र देशलाई नै भ्रमित तुल्याउन खोजिएको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend