logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • विद्युत् प्राधिकरणका कर्मचारीलाई लाग्यो चुनाव

    विद्युत् प्राधिकरणका कर्मचारीलाई लाग्यो चुनाव

    1.2K
    Shares
    विद्युत् प्राधिकरणका कर्मचारीलाई लाग्यो चुनाव

    काठमाडौँ । देशकै सबैभन्दा ठूलो सार्वजनिक संस्थान नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई यतिबेला चुनाव लागेको छ । आधिकारिक ट्रेड युनियन चयनका लागि हुन लागेको निर्वाचनका लागि संस्थानमा क्रियाशील ट्रेड युनियन नेतृत्व लिनका लागि प्रचारप्रसारमा केन्द्रित छन् ।

    यही वैशाख २८ गते हुने निर्वाचनका लागि चार वटा ट्रेड युनियनका अगुवा प्राधिकरणको देशभर रहेका कार्यालय पुगी मत माग्न लागिपरेका छन् । प्राधिकरणमा क्रियाशील ट्रेड युनियनमध्येबाट आधिकारिता प्राप्त गरेपछि दुई वर्षका लागि निर्वाचन हुन लागेको हो ।

    प्राधिकरणको आधिकारिक ट्रेड युनियन निर्वाचन–२०८० निर्वाचनका लागि देशभरका आठ हजार पाँच सय बढी कर्मचारीले मतदान गर्नेछन् । जनताको आवश्यकता पूरा गर्न तथा रोजगारी सिर्जना गर्न र देशको आर्थिक समृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको प्राधिकरणको गतिविधिलाई थप प्रभावकारी तुल्याउनका लागि आधिकारिक ट्रेड युनियनको निर्वाचन हुँदै आएको छ । शतप्रतिशत नेपाल सरकारको स्वामित्व रहेको प्राधिकरणले हरेक नागरिकको घरमा उज्यालो मात्रै पु¥याएको छैन, देशको समृद्धिमा योगदानसमेत गर्दै आएको छ ।

    राष्ट्रिय कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष माधव अधिकारीले संस्थाको गर्विलो इतिहासलाई अझ उजिल्याउने कार्यमा योगदान पुर्‍याउने उद्देश्यका साथ आफूहरु निर्वाचनमा होमिएको बताए ।

    आधिकारिक ट्रेड युनियनको निर्वाचन २०७६ सालमा भएको थियो । त्यो बेलाको निर्वाचन राष्ट्रिय कर्मचारी युनियनले जितेको थियो । प्रत्येक दुई वर्षमा हुनुपर्ने निर्वाचन कोभिड–१९ महामारी र आम निर्वाचनका कारणपछि सरेको थियो । निर्वाचित ट्रेड युनियनको प्रतिनिधि प्राधिकरणको सर्वोच्च कार्यकारी निकाय सञ्चालक समितिमा आमन्त्रित सदस्यका रुपमा रहन पाउने कानुनी व्यवस्था छ ।

    राष्ट्रिय कर्मचारी युनियनले आधिकारिता प्राप्त गरेसँगै कर्मचारीको सेवा सुविधा बृद्धि गर्नेमात्र नभइ संस्थाको समृद्धिको योजना पेश गर्ने र आम ग्राहकहरूले पनि गुणस्तरीय सेवा सुनिश्चितताका लागि काम गरेको वरिष्ठ उपाध्यक्ष अधिकारीले बताए ।

    उनले भने, ‘सहज सेवा, स्वच्छ विचार जस्ता कार्यक्रम सञ्चालन गरेर हरेक कार्यालयमा एकद्वार प्रणाली लागू गरेका छौँ । ग्राहकलाई खानेपानी, फोटोकपी र टेलिभिजनको व्यवस्था कायम गरियो । कार्यालय सफा र स्वच्छ राख्ने एवं प्रतिक्षालय राख्नेजस्ता महत्वपूर्ण रचनात्मक कार्य गरेका छौँ ।’ प्राधिकरणले नेपाल सरकारबाट पाउनुपर्ने विभिन्न रकम नपाएको अवस्थामा खबरदारी गरेर त्यस्ता रकम उपलब्ध गराउन राष्ट्रिय कर्मचारी युनियनले गरेको उनको भनाइ छ ।

    चुहावट नियन्त्रण, डिजिटल कार्यक्रमजस्ता महत्वपूर्ण कार्यक्रम लागू गर्न आधिकारिक ट्रेड युनियनले पहल गरेको, कर्मचारीका हकहित, सेवासुविधाका लागि निरन्तर आवाज उठाउन इमान्दारीपूर्वक काम गरेकै कारण आगामी दिनमा पनि राष्ट्रिय कर्मचारी युनियन नै निर्वाचित हुने उनले विश्वास व्यक्त गरे ।

    त्यसैगरी कर्मचारी सङ्घका अध्यक्ष जनार्दन भट्टराईले संस्थाको स्थायित्व र कर्मचारीको सेवासुविधाका विकासको एजेण्डा लिएर आधिकारिक ट्रेड युनियनको निर्वाचनमा आफूहरु लागेको बताए। उनले प्राधिकरणको सर्वोपरी हित र कर्मचारीको वृत्तिविकासका लागि केन्द्रित रहेको उल्लेख गरे ।
    विद्युत् प्राधिकरणमा स्थायी, अस्थायी र ज्यालादारी गरेर झण्डै १२ हजार कर्मचारी छन् । यद्यपि प्राधिकरणको स्थायी ११ हजार दरबन्दी छ । निर्वाचनमा एक तहदेखि नौ तहसम्मका कर्मचारीले मतदान गर्न पाउँछन् । कार्यालय प्रमुख, बजेट केन्द्र प्रमुख र १० तहदेखिका कर्मचारीले मत दिन भने पाउँदैनन् ।

    प्राधिकरणमा कर्मचारी कल्याण परिषद् कर्मचारी सङ्घ, राष्ट्रिय कर्मचारी युनियन र कर्मचारी युनियन क्रियाशील छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend