logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • शिशु बुद्धलाई लुम्बिनीबाट तिलौराकोट लगियो

    शिशु बुद्धलाई लुम्बिनीबाट तिलौराकोट लगियो

    2.8K
    Shares
    शिशु बुद्धलाई लुम्बिनीबाट तिलौराकोट लगियो

    रुपन्देही । मायादेवीले सिद्धार्थ गौतमलाई लिएर तिलौराकोट दरबार फर्कँदै गर्दाको प्रतीकका रूपमा लुम्बिनीबाट शिशु बुद्ध कपिलवस्तुको तिलौराकोट लगिएको छ ।

    लुम्बिनीमा जन्मिएका सिद्वार्थ गौतमलाई बुद्धपूर्णिमाको अर्को दिन लुम्बिनीबाट गृहनगर प्राचीन कपिलवस्तु लगिएको थियो । त्यही दिनको प्रतीकका रूपमा आज लुम्बिनीबाट सिद्वार्थलाई तिलौराकोट दरबार लगिएको हो । लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यलाई शिशु बुद्ध (बोधिसत्व सिद्वार्थ) को धातुको मूर्ति हस्तान्तरण गरी प्राचीन तिलौराकोट दरबार पठाइएको हो ।

    बुद्धकी आमा मायादेवी माइतीघर जाँदा लुम्बिनीमा जन्मेका बुद्धलाई गृहनगर तिलौराकोट फर्कँदाको क्षणलाई स्मरण गरी बोधिसत्व बुद्धको मूर्तिको शोभायात्रा गरिएको कोषका सदस्यसचिव शाक्यले बताए । लुम्बिनी विकास कोषले विगतका वर्षमा रथयात्रा गरी शिशु बुद्धलाई कपिलवस्तुको तिलौराकोट लैजाने कार्यक्रम गरे पनि यो वर्ष भने गाडीमै पठाइएको छ ।

    बुद्धका पिता राजा शुद्धोधनले छोरा राजकुमार सिद्धार्थ जन्मिएपछि कपिलवस्तुको तिलौराकोटबाट बाजागाजासहित लिन सेना पठाएका थिए । त्यही दिनको सम्झनास्वरूप लुम्बिनी विकास कोषले केही वर्षयता बुद्ध जयन्तीको अर्को दिन शिशु बुद्धलाई लुम्बिनीबाट तिलौराकोट लैजाने गरिएको छ ।

    बौद्ध ग्रन्थअनुसार मायादेवी गर्भवती भएपछि माइत देवदह जाने इच्छा गरेकी थिइन्। रमणीय बगैँचा लुम्बिनी पुगेपछि डोेलीबाट ओर्लिएर प्राकृतिक सौन्दर्यको आनन्द प्राप्त गर्न नपाउँदै सुत्केरी व्यथा लागेपछि अशोकको वृक्ष समातेर राजकुमार सिद्धार्थलाई जन्म दिएकी थिइन्। यो खबरले तिलौराकोट, कपिलवस्तु सहर र देवदहमा हर्षोल्लास भयो र सिङ्गो कपिलवस्तु सहर सिङ्गारेर चिटिक्क पारिएको थियो ।

    सुत्केरी मायादेवी, शिशु सिद्धार्थसहित सयौँको सङ्ख्यामा रथमा बसेर कपिलवस्तु फर्किएका थिए । त्यतिबेला कपिलवस्तुका प्रत्येक नागरिकले राजा शुद्धोधनलाई पुत्रलाभ भएको खुसीयालीमा घर–घरबाट स्वागत एवम दीपावली गरेका थिए । सोही दिनको स्मरण गर्दै लुम्बिनी विकास कोषले शिशु बुद्धलाई बुद्ध जयन्तीको भोलिपल्ट तिलौराकोट लैजाने कार्यक्रम गर्दै आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend