काठमाडौँ । वर्षेनी बाढी र डुबानको चपेटामा पर्दै आएको कञ्चनपुरको दोधारा चाँदनीमा सेफ हाउस बन्ने भएको छ । कञ्चनपुरको दोधरा चाँदनी नगरपालिकाका अधिकांश बस्तीहरु प्रत्येक बर्ष बाढीले प्रभावित हुने गरेका छन् ।
विशेषगरि महाकाली नदी र जोगबुढा नदीमा आउने बाढीका कारण वडानम्बर २,३,४,१० वर्र्षैपिच्छे डुबानमा पर्ने गर्छन् । महाकाली नदीमा बाढी आएका बेला जोगबुढा नदी थुनिएर वडानम्बर १० कुतियाकबर डुबानमा पर्ने गर्छ । बाढी र डुबानको समयमा कुतियाकबरको बस्तीको नेपालसँग सम्पर्क बिच्छेद हुन्छ । र झन्डै डेढ किलोमिटर टाढाको सुरक्षित स्थानमा लैजान पनि समस्या पर्ने भएपछि नगरपालिका, निड्स नेपाल, मर्सी कोर ज्यूरीच बाढी उत्थानशीलता सञ्जाल र स्थानीयको संयुक्त लगानीमा ३६ लाख लागतको अग्लो सेफ हाउस बनाउन लागिएको हो ।
नगरपालिकाका प्रमुख किशोरकुमार लिम्बूले विभिन्न संघसंस्थाको सहयोगमा सेफ हाउस बनाउन लागिएको जानकारी दिए । उनले भने, ‘यो रिस्क जोनमा पर्छ । तत्काल उद्धार गर्न आउन पनि नसकिने स्थिति हुन्छ । नगरपालिका, निड्स नेपाल , मर्सी कोर ज्यूरीच बाढी उत्थानशीलता सञ्जाल र स्थानीयको संयुक्त लगानीमा ३६ लाख लागतमा अहिले अग्लो सेफ हाउस बनाउन लागेका छौ । गर्नैपर्ने भएर । नभए उहाँहरुले रुखमै रात काट्नुपर्ने अवस्था आउने भयो । महाकाली र जोगबुढा नदीको तटबन्धको लागि स्थानीय बजेटले पुग्दैन । ’
दोधारा चादँनी नगरपालिकाको उत्तर, पश्चिम र दक्षिणमा भारतीय सीमा रहेको छ भने पूर्वमा भीमदत्त नगरपालिका र शुक्लाफाँट वन्यजन्तु आरक्ष छ । कुतियाकबर महाकाली र जोगबुढा नदीको दोभानमा छ । भारतले शारदा नहरको पानी जोगबुढा नदीमा छोड्दा मनसुनमा मात्रै होइन हिउँदमा पनि कुतियाकबर डुबानमा पर्ने गर्छ । कुतियाकबरको पश्चिम दक्षिणमा भारत उत्तरप्रदेशको बंगाली बस्ती छ । बस्तीका अधिकांश घरको आँगन सीमासँग जोडिएको छ । सीमाक्षेत्रमा बेलाबेलामा समस्या आउँदा विवाद हुने गर्छ । त्यसको प्रत्यक्ष मारमा पनि कुतियाकबरका बासिन्दा नै पर्ने गरेका छन् । हिउँदमा गहुँका बाला लैहै लहै भएको भूभाग वर्षातको समयमा जलमग्न हुन्छ । अनि स्थानीयलाई ज्यान जोगाउन हम्मेहम्मे पर्छ । जोगबुढा नदीमा झोलुंगे पुल भएपनि झन्डै डेढ किलोमिटर टाढा वडा नम्बर ९ स्थित श्री अम्बिका माध्यमिक विद्यालयमा जाने बाटो जलमग्न हुने भएकाले स्थानीय ज्यान जोगाउन भारतीय सिमाको बंगाली बस्ती छिर्ने गर्छन् । कुतियाकबरका बासिन्दासँग शहरीयाको जस्तो विलासि जीवन बाँच्ने लालसा छैन । एउटै सपना छ, आफ्नो र समुदायको ज्यान जोगाउने ।
स्थानीय ४५ वर्षिय टेकबहादुरको पक्कि घर बनाउने, सुख सयल गर्ने जस्ता महत्वकांक्षी सपना छैनन् । बाढीको बेला आफ्नो र समुदायको ज्यान जोगाउने एउटै सपना छ उनीसँग । पछिल्ला केही वर्ष देखि बाढीको पूर्वसूचना उनको मोबाइलमा नै आउन थालेको छ तर सुरक्षित स्थान जाने बाटो नै जलमग्न हुने भएकाले डुंगा लगायतका आपतकालिन उद्धार सामग्रीको आवश्यक पर्छ । नदीले कटान गर्दै गर्दा भारतीय सिमाको दशगजामा पुगेको सम्झन्छन् उनी । ‘ आधा जमिन खोलाले फालिसक्यो । हामीहरु जाने कता ? अहिले हामी दशगजा भित्रै बसेका छौ । केराको बुँगा काटेर काठले बाँधेर पनि हामी आफुलाई बचाउने गथ्र्यो । अहिले त डुंगा पनि बनाएका छौ । तर सबैलाई पुग्ने छैन ।’
विभिन्न संघसंस्थाको चेतनामुलुक कार्यक्रममार्फत उनले विपद्मा आफू र समुदायलाई बचाउने ज्ञान प्राप्त गरे । अनि आफैँ जुटे सेफ हाउस (उँचो घर) बनाउने काममा । उनले आफू बाँच्ने र समुदायलाई बचाउने सपना पूरा गर्न भोगचलन गर्दै आएको डेढ कट्ठा जमिन सेफ हाउन बनाउन उपलब्ध गराए । उनी भन्छन् ‘पानीको सतह बढीरहेको छ तपाईहरु सुरक्षित ठाउँमा जानुहोस् भन्ने म्यासेज आउनु भन्दा अगाडीनै हामी असुरक्षित भइसकेका हुन्छौँ । जथाभावी हिँड्दा डुबिन्छ कि भन्ने डर पनि हुन्छ । त्यसैले हामी घरको माथि सारी, धोती वा कम्बलको झोलुङ्गा बनाएर बच्चाहरु र महत्वपुर्ण कागजातहरु राख्ने गर्छौं । बाढी आएपछि आफू बच्ने, समुदाय जतासुकै जाउँन् भन्ने हुन्थ्यो । अहिले भने अरुलाई पनि बचाउने किसिमको ज्ञानहरु संघसंस्थाले सिकाए । त्यसपछि सेल्टर हाउसको ज्ञान हामीलाई आयो । अनि बाँच्ने सपना पुरा गर्नका लागि आफैँले जमिन दिएँ । ६ ÷७ बर्ष अघि देखि हामीले उँचो घर (सेफ हाउस) को सपना देखेका थियौ । अब साकार होला जस्तो लागेको छ ।’
सेफ हाउस बन्ने भएपछि सुनारलाई मात्रै होइन कुतियाकबरका सबैलाई खुशी लागेको छ । स्थानीय मायादेवी सुनार बाढी आएको बेला धोतीको झोलुङ्गे बनाएर ज्यान जोगाएको सम्झन्छिन् । दैनिक खाद्यान्न, औषधोमुलो, रोजगारी अनि विपद्को बेला पनि भारतीय सीमा पारिकै शरणमा जानुपर्दा स्थानीय मायादेवी सुनार पनि खुशी छैनन् । तर आफूहरु बिना हतियार सीमा सुरक्षाकर्मीको रुपमा रहेकाले सरकारले बासस्थानको सुरक्षा मिलाउनुपर्ने तर्क उनको छ । परिवारका सदस्य सबैलाई रोजगारीका लागि भारत पठाएकी माया सेफ हाउस बन्ने भएपछि ज्यान जोगिने भयो भनेर खुशी छन् । उनी भन्छिन् ‘खेतहरु बगाएर लगेपछि के खाने ? खानको लागि पनि उनीहरुलाई काममा पठाउँछु म घर कुरेर बस्छु । बाढी आउँदा बस्ने अग्ला अग्ला घर भइदिएको भए ज्यान जोगाउने थियौ । घर छोडेर जाने हो भने बोर्डर नजिकै छ । सबै लगिदिन्छन् । कसरी जाने ? कि जमिन किनेर जानुपर्यो । बनको हात्ती आउँछ । समस्या नै छ । बोर्डर नजिक छ चोरको समस्या छ । सीमा सुरक्षाकर्मीबाटै समस्या छ । दुवै तर्फबाट समस्या छ । हामी त बिना हतियार सीमा सुरक्षाकर्मीको रुपमा बसेका छौ । ’
स्थानीय श्यामलाल सुनार बाढीले बर्षभरिका लागि खाने धानखेती बगाउनुको साथै घरभित्रको अन्नअनाजमा पनि क्षति पुराउँदा हातमुख जोर्न नै कठिन हुने गरेको गुनासो गर्छन् ।
उनले भने ‘बाढीले हामीलाई हरसाल लपेटेको लपेटेई छ । यता उता कतैबाट कमाईधमाई गरेर ल्यायो । खेतीबारीमा लगायो । बाढी आयो स्वाट् लगिगयो । उस्ताको उस्तै । उठ्नै पनि पाइएको छैन । यहाँ गतिलो घर बनाएर बस्न कसैले पाएको छैन । ’
२०२२ देखि सो स्थानमा बस्दै आएका नरबहादुर सुनारसँग अहिले आफ्नो भन्ने जमिन छैन । स्थानीय बसन्ती बुढा सरकारसँग पनिबाढी आएको बेला भागाभाग गरेर ज्यान जोगाउनु परेको नमिठो सम्झना छ । वसन्तीलाई दशगजामा सीमा संरक्षकको रुपमा रहेकोमा गर्भ त लाग्छ तर त्यहाँको समस्या सम्झेर आँखा भरिन्छन् । उनी भन्छिन् ‘जमिन छैन । हाम्रो सरकारले केही गर्नै सकेको छैन । राम्रो स्थानमा लगेर राखिदिए हुन्थ्यो । इण्डियाको बार भएर बस्नु परेको छ । सुरक्षाकर्मी त हामी भयौ । हामी नभएको भए इण्डियाले के गथ्र्यो । अरु जग्गामा हेर्नुन कस्तो छ । ’
अहिले गहुँका बाला लैहलहै भएको भूभाग वर्षात्को समयमा जलमग्न हुन्छ । बस्ती भित्रै पानी पस्छ । बाढीले बगाएर ल्याएका काठका मुडाहरु नै घरभित्र पसेपछि सुरक्षाकर्मी लगाएरै घर सफा गर्नुपर्ने अवस्था श्रृजना हुन्छ । नगरपालिकाकाले पछिल्लो ३ आर्थिक वर्षमा ४६ लाख २६ हजार ९ सय ८१ रुपैयाँ विपद् व्यवस्थापन प्रयोजनको लागि मात्रै खर्च गरेको छ । कटान रोकथामका लागि प्रदेश पूर्वाधार र समपुरक तथा नगरपालिकाको बार्षिक बजेट समेत गरी २ करोड २८ लाख ५० हजार खर्च भएको छ । वन्यजन्तु पिडित, वन्यजन्तु नियन्त्रण, आगलागी लगायत आकस्मिक विपद्को राहतमा ४० लाख रुपैया खर्च भएको छ । महाकाली नदीमा महाकाली सिंचाई र जोगबुढा नदीमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट तटबन्द निर्माणको काम भइरहेको छ ।
विभिन्न संघसंस्थाको सहयोग तथा स्थानीय सरकार र सामुदायिक विपद् व्यवस्थापन युनिटको सक्रियतामा कुतियाकबरमा निर्माण गर्न लागिएको सुरक्षित आवास गृहले मानवीय क्षति त रोक्ला तर हरेक बर्ष बाढीका कारण मुलुकका विभिन्न स्थानमा पुगेको भौतिक सम्पतीको हानीनोक्शानीको भरपाई हुनसक्दैन ।
त्यसैले सरकारले कुतियाकबर जस्ता कयौँ जोखिमयुक्त बस्तीमा पुगेको भौतिक सम्पतीको हानी नोक्शानीको मुल्ंयाकन गरि अन्तर्राष्ट्रिय वित्तकोष समक्ष क्षतिपूर्तिको दाबी गर्नु जरुरी देखिन्छ ।