logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • दुर्गमबस्तीको समस्याः विद्यालय पुग्न दुई घण्टा हिँड्नुपर्छ

    दुर्गमबस्तीको समस्याः विद्यालय पुग्न दुई घण्टा हिँड्नुपर्छ

    1.4K
    Shares
    दुर्गमबस्तीको समस्याः विद्यालय पुग्न दुई घण्टा हिँड्नुपर्छ

    कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाकी मनिषा साउदले यसपटक कक्षा आठ उर्तीण गरिन्। गाउँकै विद्यालयबाट कक्षा आठ उर्तीण गरेकी उनी ब्रह्मदेवस्थित सिद्धनाथ माध्यमिक विद्यालयमा कक्षा नौ मा भर्ना भएकी छिन् ।

    अर्को गाउँको विद्यालय जानुपर्ने हुनाले आजभोलि मनिषाको दैनिकी फेरिएको छ । उनी बिहान सबेरै उठेर विद्यालयका लागि तयारीमा छिन् । विद्यालय आउजाउँ गर्न दैनिक चार घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । ‘विद्यालय पुग्न दुई घण्टाको बाटो पैदल हिँड्नुपर्छ, बिहान आठ बजे विद्यालय सुरु हुन्छ’, उनले भने, ‘विद्यालय छोप्न बिहान छ बजे घरबाट निस्किन्छु, कहिलेकाहीँ त ढिलो भएर विद्यालय छुट्छ ।’

    खल्लाकै पुष्पा बोहरा पनि ब्रह्मदेवकै सिद्धनाथ माध्यमिक विद्यालयमा पढ्छिन् । सो विद्यालयमा कक्षा १० मा यसपटक भर्ना भएकी उनको पनि दैनिकी यस्तै छ ।

    ‘कक्षा नौँदेखि ब्रह्मदेवको विद्यालय पढ्न आएकी हुँ, विद्यालय आउजाउ गर्न दैनिकी चार घण्टा हिँड्नुपर्छ’, उनले भनिन्, ‘कच्ची बाटोमा अटो र बस चल्छ, तर दैनिक भाडा तिरेर जानसक्ने आर्थिक स्थिति छैन ।’ भीमदत्त –९ अन्तर्गत चुरे क्षेत्रमापर्ने टुँडिखेल, खल्ला र मुसेट्टी दुर्गम बस्ती हुन । गाउँमा माध्यमिक शिक्षा अध्ययनका लागि विद्यालय नहुँदा त्यहाँका विद्यार्थी दुई घण्टा पैदल हिँड्नुपर्ने बाध्यतामा छन् ।

    ‘बिदा १२ बजे हुन्छ, बालबालिका भोकाएर अन्तिम कक्षा नपढेर घर फर्किन्छन्’, भीमदत्त –९ खल्लाका सुरेन्द्र कठायतले भने, ‘कतिपयले त हिँड्नुपर्ने दुखले विद्यालय नै छोडेका छन् ।’ पहाडी भेगको झल्को दिने चुरेका तीन बस्तीमा एउटा पनि माध्यमिक विद्यालय छैन । टुँडिखेलमा कक्षा पाँच, मुसेट्टीमा कक्षा तीन र खल्लामा कक्षा आठ सम्मको पढाइ हुने गरेको छ ।

    यसले गर्दा यहाँका विद्यार्थी माध्यमिक शिक्षाका लागि ब्रह्मदेव झर्नुपर्ने बाध्यता रहेको उनी बताउँछन् । ‘यहाँसम्म पुग्ने कच्ची बाटो छ, बर्खामा त्यहीँ बाटो पनि बिग्रिन्छ’, उनले भने, ‘नानीबाबुहरुलाई जोखिम मोलेर विद्यालयसम्म पुग्छन् ।’

    कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले पनि यस्तै सास्ती व्यहोर्नु परेको छ । लामो बाटो पैदल हिँड्नुपर्ने हुनाले कतिपयले त आफ्ना छोराछोरी अध्ययनका लागि महेन्द्रनगरमा कोठा भाडामा लिएरसमेत बसाल्ने गरेका छन् । दैनिक आउन जान गरेर चार घण्टा पैदलमै खर्चिनु पर्दा विद्यालय समयबाहेक अन्य समय पढाइमा खर्चन नपाएको विद्यार्थीको गुनासो छ ।

    ‘गाउँमा मावि तहसम्म पढ्ने विद्यालय वा अर्को गाउँको विद्यालयमा जान सुपथ मूल्यमा स्कुल बसको व्यवस्था भए सहज हुन्थ्यो’, बालिका उर्मिला कठायतले भनिन्, ‘लामो समय हिँडेर विद्यालय पुग्दा थकाइ लाग्छ र पढाइमा धेरै समय दिन सकिँदैन, गाउँमै सहज रूपमा पढ्ने व्यवस्था हुनुप¥यो ।’

    आधारभूत तहको शिक्षा गाउँमै पढ्ने व्यवस्था भए पनि माथिल्लो तहको शिक्षा लिन अन्यत्र घण्टौँ हिँडेर जानुपर्दा निकै समस्या हुने गरेको उनको गुनासो छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend