काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संघ सरकारकामा भएको गठबन्धनकै आधारमा मधेस प्रदेश सरकार पुनःगठन हुने बताएका छन् ।
शुक्रवार जनकपुरमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले केही दिनभित्रै मधेस सरकार पुनःगठन हुने बताएका हुन् ।
उनले संघीय सरकारमा भएको गठबन्धन अनुरुप नै मधेस सरकारमा पनि गठबन्धनको सरकार कायम रहने बताए । मुख्यमन्त्रीमा आलोपालो हुने भन्दै उनले अहिले भने सरकारको नेतृत्व जसपाले नै गर्ने स्पष्ट पारे ।
उनले भने, ‘यही सरकारमा मन्त्रिपरिषद् बिस्तार हुन्छ । घटक दलका तर्फबाट मन्त्री हुन्छन् । तर मुख्यमन्त्रीमा आलोपालो हुन्छ । संघमा सरकारमा रहेका, पाँच दलिय गठबन्धनको संयुक्त सरकारको रुपमा यो अगाडी बढ्छ । मन्त्रिपरिषद् हेरफेर वा पुनःगठन चाँडै हुन्छ ।’
उनले जनमत पार्टी उपनिर्वाचनमा सत्तारुढ गठबन्धनको बिरुद्धमा लागेको उल्लेख गर्दै जनमतलाई सरकारमा ल्याउने, नल्याउने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालको भएको बताए ।
उनले नक्कली भूटानी शरणार्थी प्रकरणलाई अपराध भएको टिप्पणी गर्दै कठोर छानबिन हुनुपर्ने बताए ।