
काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र चिनियाँ कम्युनिष्ट पार्टीका सिचुआन प्रान्तका पार्टी सचिव वाङ सियाओहुईबीच शिष्टाचार भेटवार्ता भएको छ ।
बुधवार बिहान पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा सचिव वाङसहितको १४ सदस्यीय प्रतिनिधि मण्डलले नेकपा (माओवादी केन्द्र) नेताहरुसँग भेट गरेको हो ।
भेटका क्रममा दुई पार्टीका बीचमा सम्बन्ध बिस्तार, सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताए । उनले छलफलमा दुई सरकारबीचमा सम्बन्ध बिस्तार र दुई देशका जनताको बीचमा पनि सम्पर्क सम्बन्ध स्थापित गर्नेकुरामा छलफल भएको बताए ।
उनले भने, ‘उहाँ छिचुवान प्रान्तको सेक्रेटरी आउनुभएको थियो । उहाँको नेतृत्वमा आएको टिमसँग हामीले छलफल गर्यौँ । दुई पार्टीका बीचमा सम्बन्ध बिस्तार, सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भयो । दुई सरकारबीचमा समान सम्बन्ध बिस्तार होस्, दुई देशका जनताको बीचमा पनि सम्पर्क सम्बन्ध होस्, भन्नेबारेमा केन्द्रित भएर कुरा गर्यौँ ।’
भेटमा नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङ लगायतका पार्टीका नेताहरुको उपस्थिति रहेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले आजबाट तीन दिने भारत भ्रमण हुनुभन्दा पहिला चिनियाँ कम्युनिष्ट पार्टीको टोलीबीच भएको भेटघाटलाई महत्वपूर्ण रुपमा लिइएको छ ।
साथै चिनियाँ कम्युनिष्ट पार्टीको टोली आज बिहान नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गरेको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend