logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • मूल्यवृद्धि वाञ्छित सीमामाथि, शोधनान्तर स्थिति बचतमा

    मूल्यवृद्धि वाञ्छित सीमामाथि, शोधनान्तर स्थिति बचतमा

    1.6K
    Shares
    मूल्यवृद्धि वाञ्छित सीमामाथि, शोधनान्तर स्थिति बचतमा

    काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्ममा मूल्यवृद्धिले वाञ्छित सीमा नाघेको छ ।

    सरकारले चालु आर्थिक वर्षका लागि मूल्यवृद्धि सात प्रतिशतको सीमाभित्र कायम गर्ने लक्ष्य राखेकामा १० महिना अवधिमा सात दशमलव ४१ प्रतिशत पुगेको हो ।

    नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति सात दशमलव ४१ प्रतिशत रहेको छ ।

    राष्ट्र बैंकको तथ्याङ्कअनुसार यो अवधिमा शोधनान्तर स्थिति दुई खर्ब १४ अर्ब ६७ करोडले बचतमा रहेको छ । त्यस्तै, कूल विदेशी विनिमय सञ्चिति १४ खर्ब ७० अर्ब ३३ करोड बराबर छ । विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा ११ अर्ब २१ करोड बराबर हो ।

    राष्ट्र बैंकका अनुसार १० महिना अवधिमा विस्तृत मुद्राप्रदाय छ दशमलव नौ प्रतिशतले बढेको छ भने वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १० प्रतिशतले बढेको छ । यो अवधिमा विप्रेषण आप्रवाह २३ दशमलव चार प्रतिशतले बढेर १० खर्ब पाँच अर्ब १८ करोड पुगेको छ ।

    त्यस्तै आयात १६ दशमलव आठ प्रतिशतले, निर्यात २४ दशमलव पाँच प्रतिशतले र कूल वस्तु व्यापार घाटा १५ दशमलव नौ प्रतिशतले घटेको छ । वैशाख मसान्तसम्ममा सङ्घीय सरकारको खर्च १० खर्ब ४७ अर्ब ७६ करोड र राजस्व परिचालन सात खर्ब ५६ अर्ब २५ करोड रहेको छ ।

    यो अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन सात दशमलव तीन प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा तीन दशमलव एक प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११ दशमलव चार प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर तीन दशमलव तीन प्रतिशत रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend