काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा वेष्ट इण्डिजविरुद्ध बलिङ गरिरहेको नेपालले तेस्रो विकेट लिएको छ ।
हरारे स्पोर्टस क्लबमा चलिरहेको खेलमा नेपालका सन्दीप लामिछानेले वेष्ट इण्डिजका ओपनर ब्रेन्डन किंगलाई बोल्ड आउट गर्दै सन्दीपले प्रतियोगिताकै पहिलो विकेट लिएका हुन् ।
यसअघि पहिलो खेलमा जिम्बाव्वे र दोस्रो खेलमा अमेरिकाविरुद्ध पूरा स्पेल बलिङ गरे पनि उनी विकेटविहीन रहेका थिए । जिम्बाव्वेविरुद्ध ७७ रन र अमेरिकाविरुद्ध ५८ रन खर्चेर विकेटविहीन बनेका थिए।
एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा सन्दीपले लगातार दुई खेलमा विकेट लिन सकेका थिएनन् । टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले दुई चोटी विश्व विजेता वेष्ट इण्डिजलाई आजको खेलमा दबाबमा राख्न सफल देखिएको छ ।
नेपालले दोस्रो ओभरमै वेष्ट इण्डिजका ओपनर केल मायर्सलाई आउट गरेको थियो । करण केसीको बलमा कुशल भुर्तेलले क्याच आउट गरे ।
करणले यसअघि अमेरिकाविरुद्धको अघिल्लो खेलमा पनि ४ विकेट लिएर प्लेयर अफ द म्याच चुनिएका थिए । पाँचौं ओभरमा वेष्ट इण्डिजका तेस्रो नम्बरका ब्याटर जोन्सन चाल्र्सलाई गुल्सन झाले विकेटकिपर आसिफ शेखबाट आउट गराए ।
गुल्सनको स्पेलको पहिलो बलमै आउट भएका चार्ल्सले रन जोड्न सकेनन् । यसअघि यस प्रतियोगितामा नेपालले पहिलो खेलमा घरेलु टोली जिम्बाव्वेसँग ८ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराउँदै सानदार जित निकालेको थियो ।