logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • यस वर्ष रासायनिक मलको अभाव हुँदैनः मन्त्री भुसाल

    यस वर्ष रासायनिक मलको अभाव हुँदैनः मन्त्री भुसाल

    1.4K
    Shares
    यस वर्ष रासायनिक मलको अभाव हुँदैनः मन्त्री भुसाल

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. वेदुराम भुसालले यस वर्ष धानका लागि रासायनिक मलको अभाव नहुने बताएका छन् ।
    मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री भुसालले यस वर्ष धानका लागि आवश्यक पर्ने रासायनिक मल अभाव नहुने बताएका हुन् ।

    हाल देशभरका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनका डिपोहरुमा ७८ हजार ४२२ मेट्रिक टन मल मौज्दात रहेको उनले जानकारी दिए ।

    उनले असार महिनाको अन्त्य सम्ममा थप ४५ हजार मेट्रिक टन र श्रावण महिनाभित्र थप ७५ हजार मेट्रिक टन रासायनिक मल प्राप्त हुने पनि बताए । मन्त्री भुसालले आगामी आर्थिक वर्षको लागि रासायनिक मल खरिदका लागि ३० अर्ब रुपैयाँ रकम सुनिश्चित गरिएको बताए ।

    उनले भने– ‘चालु आर्थिक वर्षको लक्ष्य अनुसार कुल ४ लाख ७८ हजार ५०० मेट्रिक टन रासायनिक मल खरिदको सम्पूर्ण प्रक्रिया समयमै सम्पन्न गरिएको छ । त्यसमध्ये ३ लाख ५१ हजार मेट्रिक टन आयात भइ विक्रि, वितरण भइरहेको छ । र हाल ७८ हजार ४२२ मेट्रिक टन मल देशभरका कृषि सामग्री कम्पनीका ४१ र साल्ट ट्रेडिङ कर्पोरेशनका २४ डिपोहरुमा मल मौज्दात रहेको छ । असार महिनाको अन्त्य सम्ममा थप ४५ हजार मेट्रिक टन र श्रावण महिनाभित्र थप ७५ हजार मेट्रिक टन रासायनिक मल प्राप्त हुने अवस्थामा रहेको छ । यस वर्षको धानलाई रासायनिक मलको अभाव नहुने व्यहोरा यस सदनमा राख्न चाहन्छु । विगतमा जस्तै बजेटमा सुनिश्चितता नभएर समयमा मल ल्याउन नसकिने अवस्था आगामी वर्षमा नरहोस् भनेर आगामी आर्थिक वर्षको लागि रु. ३० अर्ब रकम सुनिश्चित गरिएको ब्यहोरा पनि अनुरोध गर्न चाहाछु । त्यसैगरी रासायनिक मलको खरिद प्रक्रियालाई छिटो, छरितो बनाउने विषयमा मन्त्रालयले सार्वजनिक खरिद अनुगमन कार्यालयसँगको समन्वयमा सार्वजनिक खरिद ऐन संशोधन गर्न प्रस्ताव गरेको छ । र मल खरिद सम्बन्धी निर्देशिकाको मस्यौदा गरी मन्त्री परिषद्मा पेस गर्ने क्रममा रहेको छ ।’

    मन्त्री भुसालले लम्पिस्किन रोग नियन्त्रणका लागि सरकारले सम्भव भएसम्मका कामहरु अगाडी बढाएको बताए । उनले हालसम्म ६ लाख ११ हजार २०९ पशु संक्रमित भएका र संक्रमित मध्ये २१ हजार ४७३ पशुको मृत्यु भइसकेको जानकारी दिए । ३ लाख ५४ हजार ५७३ पशुभने लम्पिस्किन रोगबाट निको भइसकेका बताए । उनले २ लाख ३५ हजार २१९ पशु अझैपनि संक्रमित अवस्थामा रहेका बताए ।

    उनले भने– ‘अहिले देशैभरी गाईभैँसीमा लाग्ने एउटा संक्रामक रोग फैलिएको छ । लम्पिस्किन रोग भनिने यो रोग नयाँ प्रकारको सरुवा रोग हो । नेपालमा यो रोग पहिलो पटक २०७७ मा देखापरेको थियो । यस वर्ष मनाङ बाहेक सबै जिल्लामा देखा परेको छ । हालसम्म ६ लाख ११ हजार २०९ पशु संक्रमित भएका छन् । संक्रमित मध्ये २१ हजार ४७३ पशुको मृत्यु भएको छ भने ३ लाख ५४ हजार ५७३ निको भएका छन् । २ लाख ३५ हजार २१९ अहिलेपनि संक्रमित अवस्थामा रहेका छन् । मैले मन्त्रालय सम्हाल्नुभन्दा पहिले नै यस रोगको संक्रमण फैलिइसकेको थियो । तर त्यसबेला उपचार र नियन्त्रणका लागि कुनैपनि कदम चालिएको थिएन । आजभन्दा दुई महिना अगाडीदेखि उपचार र नियन्त्रण गर्न थालिएको हो । यसको उपचार भनेको संक्रमित पशुलाई आउने उच्च ज्वरो कम गर्ने, गिर्खामा मल्हम लगाउने र दानापानी खुवाउने हो । नियन्त्रणका लागि संक्रमण नभएका पशुलाई भ्याक्सिन लगाउने हो । यसको भ्याक्सिन हाम्रो देशमा पाइँदैन । अहिले हामीले जोर्डन, तान्जनिया र टर्कीबाट भ्याक्सिन आयात गरिरहेका छौँ । हालसम्म ७ लाख ३७ हजार डोज भ्याक्सिन ल्याइएको छ । र २०८०/३/१० सम्म १ लाख ६२ हजार ३७१ पशुलाई खोप लगाइएको छ । लम्पिस्किन रोगको सम्बन्धमा सरकार मौन छैन । यस रोगको उपचार तथा रोकथामका लागि मन्त्रालयबाट सम्भव भएसम्मका कार्यहरु अघि बढाइएको छ ।’

    उनले लम्पिस्किन रोगको खोप जोर्डन, तान्जनिया र टर्कीबाट भ्याक्सिन आयात गरिरहेको बताए । उनले हालसम्म ७ लाख ३७ हजार डोज खोप ल्याइएको र असार १० गतेसम्म १ लाख ६२ हजार ३७१ पशुलाई खोप लगाइएको जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend