काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार विरुद्धको लडाई अझै नरोकिने बताएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, मिटरब्याजी प्रकरणमा सरकारले एकपछि अर्को सफलता हात पारिरहेको उल्लेख गर्र्दै उनले वर्षोदेखि डुंगुरको रुपमा रहेको भ्रष्टाचारलगायतका विकृतिहरुविरुद्धको लडाई नरोकिने बताएका हुन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, उपराष्ट्रपति कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सफलता हातपारेसँगै उच्चपदस्थहरु र देशका एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित हुँदै गएको दावी समेत गरे । उनले आफूले सरकार संचालन गरेयता सबैभन्दा ठूलो उपलब्धि जनतामा राज्य र व्यवस्थाप्रति भरोसा जगाउनु रहेको जिकीर समेत गरे ।
प्रधानमन्त्री दाहालले भने, ‘मैले संसदमा संकल्प गरेको थिएँ–सुशासन सरकारको उच्च प्राथमिकता हुनेछ । मैले सरकारको यस बीचको सबभन्दा ठूलो उपलब्धि व्यवस्थाप्रति जनतामा जगाएको भरोसालाई मानेको छु । मैले नेतृत्व लिँदै गर्दा जनतामा राज्यप्रति र सरकारप्रति जुन निराशा, असन्तोष र आवेग थियो । अहिले त्यसमा सुधार भएको छ । र, यसलाई मैले जनतामा राज्यप्रति र सरकारप्रति भरोसामा जो अभिवृद्धि भएको छ । यसबीचको सबैभन्दा ठूलो उपलब्धिको रुपमा मानेको छु । हाई प्रोफाईल व्यक्तिहरु कानुनभन्दा माथि छन आम मनोविज्ञान बनिरहेकोे थियो । त्यसले जनतामा ठूलो आक्रोश जन्माईरहेको थियो । त्यो असन्तोषले लोकतन्त्रप्रति नै नकारात्मक धारणा बनिरहेको थियो । र, नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेको इतिहासकै ठूलो अनुसन्धान र कारबाही पछि जनतामा विश्वास जाग्न सुरु भएको छ । नक्कली भुटानी शरणार्थी काण्डको सफल अनुसन्धानबाट सरकारले कानुनको सर्वाेच्चतामात्रै प्रमाणित गरेको छैन । लोकतन्त्रको सर्वोच्चता पनि स्थापित भएको छ । लोकतन्त्र भित्र देखापर्ने समस्याको समाधान पनि लोकतन्त्रबाट नै प्राप्त हुन्छ भन्ने एउटा ऐतिहासिक मापदण्ड यो राम्रोसँग स्थापित भएको छ । उच्चपदस्थहरु र देशका एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित हुँदै गएको छ । यो काण्डको सफल अनुसन्धानसँगै अव लोकतन्त्रको सर्भिसिङ र शुद्धिकरण पनि सूरु भएको छ । संसद र आम जनसमुदायलाई म यही रोष्टमबाट विश्वास दिलाउन चाहन्छु–यो शुद्धिकरण यतिमा रोकिने छैन । यो निरन्तर अगाडि बढनेछ । हिजोबाट प्रधानमन्त्री निवासनै निल्न खोज्ने ललिता निवास काण्डको अभियुक्तहरु पक्राउ पर्न थालेका छन । मिटरब्याजी र सहकारीका ठगहरुमाथि कारबाही सुरु भईसकेको छ । वर्षाैदेखि विकृतिको डुंगुर सफा गर्ने सुशासनको यो लडाईमा मलाई सदन र जनताको अझ धेरै समर्थनको आवश्यक्ता रहेको मैले महशुस गरेको छु । र, यो लडाईमा मलाई सदनको पनि र आम जनताको पनि अझ ठूलो हौसला र सहयोग प्राप्त हुने विश्वास पनि म व्यक्त गर्न चाहन्छु ।’
प्रधानमन्त्री दाहालले मुलुकमा सुशासनका लागि अभियाननै सुरु गरेको उल्लेख गर्दै त्यसमा सदन र आम नेपाली जनताले सरकारलाई अझ धेरै साथ दिनुपर्ने आवश्यक्ता पनि औंल्याए ।