logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • अन्तरसम्बन्धले अपेक्षित लक्ष्य हासिल गर्न सकिन्छः मुख्यमन्त्री पाण्डे

    अन्तरसम्बन्धले अपेक्षित लक्ष्य हासिल गर्न सकिन्छः मुख्यमन्त्री पाण्डे

    1.6K
    Shares
    अन्तरसम्बन्धले अपेक्षित लक्ष्य हासिल गर्न सकिन्छः मुख्यमन्त्री पाण्डे

    गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तीनवटै तहका सरकारको अन्तरसम्बन्धले मात्र अपेक्षित लक्ष्य हासिल गर्न सकिने बताएका छन् ।

    गण्डकी प्रदेश सरकारको आयोजनामा पोखरामा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री बैठकका सहभागीलाई स्वागत गर्दै उनले अन्तरसम्बन्धले सुशासन, विकास र समृद्धि प्राप्तीका लागि तीनवटै तहका सरकारको साझा प्रयास परिचालनको माग गर्ने बताए ।

    पछिल्लो समयमा सङ्घीयताविरुद्ध जनमत निर्माण गर्ने जोडतोडका साथ प्रयास भइरहेको बताउँदै उनले संविधानसभाबाट निर्मित संविधानबाट प्राप्त उपलब्धि सङ्घीयता, गणतन्त्र, समावेशितालाई आत्मसात् गर्न नसकेका शक्तिको प्रहारको निशानामा प्रदेश तह रहेको आभाष भएको बताए ।

    अन्तरप्रदेश मुख्यमन्त्री बैठक सातै प्रदेशबीच अनुभव आदानप्रदान गर्ने, सबल पक्षलाई थप मजबुत बनाउँदै संस्थागत गर्ने र दुर्बल पक्षलाई न्यूनीकरण गर्दै प्रदेशलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको उनले बताए ।

    प्रदेश सरकार स्थापनाको छैटौँ वर्ष एवं दोस्रो कार्यकालसम्म आइपुग्दा प्रदेशको नामकरण÷राजधानी तोकिनुका साथै प्रदेश सञ्चालनका लागि कानुन निर्माण भएको उनले बताए ।

    भौतिक पूर्वाधार निर्माण तथा मर्मतसम्भारका कार्य भएको र प्रदेशलाई आवश्यक निकाय÷सङ्घ संस्था निर्माण गरी काम हुँदै आएको उनले बताए । सङ्घीय कानुन निर्माण नभएका कारण प्रदेश कानुन निर्माण हुन नसकेको भन्दै उनले संविधानतः प्राप्त एकल अधिकारका विषय कार्यान्वयनमा समस्या देखिएको बताए ।

    मुख्यमन्त्री पाण्डेले भने, ‘प्रहरी समायोजन नभएकाले प्रदेशमा शान्ति सुरक्षा कायम राख्ने, विपद् व्यवस्थापनमा सुरक्षाकर्मी परिचालन गर्न तथा सुरक्षा निकायसँग समन्वय गर्न कठिनाइ भएको छ । जग्गा प्राप्तिको पनि समस्या छ ।’

    कर्मचारी सरुवामा समन्वय नहुँदा आएका जटिलतालगायत विषयमा छलफल भई समाधानका उपाय पहिल्याइ सङ्घ र प्रदेश सरकारबीचको सहकार्यलाई समन्वयकारी बनाउनुपर्नेमा उनले बताए ।

    प्रदेश कानुनमा एकरुपता कायम गर्दै अन्तरप्रदेश कार्यक्रम तथा आयोजना सञ्चालन गर्ने विषयमा सहकार्य जरुरी रहेको बताउँदै उनले प्रदेशको औचित्यबारे साझा धारणा निर्माण गर्न यो बैठक सफल हुने विश्वास लिइएको बताए ।

    समग्रमा राजनीतिक, कानुनी, प्रशासनिक र वित्तीय सङ्घीयतालाई प्रभावकारी बनाउनेतर्फ हाम्रो ध्यान आकृष्ट हुन जरुरी रहेको बताउँदै उनले यसमा सङ्घीय सरकारले समन्वयका लागि नेतृत्वसहित मार्गदर्शन गर्नुपर्ने र सबै प्रदेश सरकार हातेमालो गर्नको लागि तयार रहेको र रहनुपर्नेमा जोड दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend