काठमाडौं । एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधिका लागि अहिले नेपाल र मलेसिया चलिरहेको छ ।
नेपालले मलेसियालाई २ सय ५३ रनको विजयी लक्ष्य पेश गरको छ । मलेसियाको बायुमास मैदानमा पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रनको योगफल बनायो ।
नेपालका लागि नरेन भट्टले शतकीय पारी खेले। उनले नटआउट १ सय १२ रन बनाए । यस्तै निरजकुमार यादवले ४७, सूर्यांशु कोइरालाले १८, सन्तोष यादवले २६, अशोक धामीले ११, दिपु कुमारले ५, अभिषेक कुमारले ४, अभिषेक लुहारले २ र प्रतिक भट्टराईले एक रन बनाए ।
समूह ए मा दुई वटै खेलमा जितेर निकालेर विजेता बनेको नेपालले सेमिफाइनलमा सिंगापुरमाथि ९७ रनको फराकिलो जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो ।
घरेलु टोली मलेसियाले सेमिफाइनलमा समूह बी को विजेता हङकङलाई ७८ रनले पराजित गर्दै नेपालसँगको भेट निश्चित गरेको हो । यसअघिको समूह चरणमा नेपालले मलेसियालाई ८४ रनले पराजित गरेको थियो ।