काठमाडाैँ । एसीसी यू–१६ इस्ट जोन कप फाइनलमा नेपालले दिएको २५३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याइरहेको घरेलु टोली मलेसियाले खराब प्रदर्शन गर्दै निरन्तर विकेट गुमाएपछि नेपाल उपाधि नजिक अग्रसर भएको छ ।
नेपालले दिएको २५३ रनको फराकिलो लक्ष्य पछ्याइरहेको मलेसियाले ८ ओभरमा ५ विकेट गुमाउँदै मात्र १८ रन जोडपछि संकटको अवस्थामा पुगेको हो ।
मलेसियाको ब्याटिङ स्तब्ध पार्न नेपालका कप्तान अभिषेक तिवारी एक्लैले चार विकेट लिए भने सागर गैरेले एक विकेट दिलाए । ४ ओभर बलिङ गरेका अभिषेकले मात्र ४ रन खर्चिदैँ ४ विकेट छारेका हुन् ।
आज मलेसियालाई पराजित गर्दै नेपाल एसीसीको यू–१६ स्तरको प्रतियोगितामा ह्याट्रिकको संघारमा रहेको छ । यसअघि एसिसीको आयोजना भएको यू–१६ इस्टर्न रिजनमा नेपालले लगातार दुई उपाधि चुमेको थियो ।
नेपालले सन् २०१७ मा र २०१९ मा लगातार उपाधि जितेको थियो। नेपालले २०१७ को फाइनलमा सिंगापुरलाई ७२ र २०१९ को फाइनलमा मलेसियालाई ५९ रनले फराकिलो अन्तरले पराजित गर्दै उपाधि उचालेको थियो ।