काठमाडौं । नेपालले लगातार तेस्रो पल्ट एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि उचालेको छ ।
आज मंगलबार भएको फाइनलमा ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले घरेलु टोली मलेसियालाई २२१ रनको विशाल अन्तरले पराजित गरेको हो।
एसियाली क्रिकेट काउन्सिलले यसअघि एसीसी यू–१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजना गरेको थियो र नेपालले २०१७ र २०१९ मा निरन्तर उपाधि हात पारेको थियो ।
नेपालले दिएको २५३ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा मात्र ३१ रन बनाएर सबै विकेट गुमायो । मलेसियाका मोहमद अक्रमले १० रन बनाउनु बाहेक अरु ब्याटरले दोहोर अंकको रन बनाउनै सकेनन् । मलेसयाका ५ जना ब्याटरले खाता समेत खोल्न सकेनन् ।
नेपालका अभिषेक तिवारीले ५ तथा सन्तोष यादवले ३ विकेट दिलाए। ६ ओभर बलिङ् गरेका तिवारीले १ मेडन राखेर जम्मा ७ रन मात्र खर्चिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नरेन भट्टको शतकीय पारीमा ८ विकेटको क्षतिमा पूरै ३५ ओभर खेल्दै २५२ रनको चुनौतीपूर्ण योगफल तय गरेको थियो ।
नेपालका लागि नरेन भट्ट एक्लैले ८९ बलमा सर्बाधिक अविजित ११२ रनको योगदान दिए । उनले १० चौका र दुई छक्का मद्दतमा ११२ रन बनाए ।
नेपालका लागि निरजकुमार यादवले ४७, सन्तोष यादवले २६, सूर्यांशु कोइरालाले १८, अशोक धामीले ११, दिपु कुमारले ५, क्याप्टेन अभिशेक तिवारीले ४, आशिष लुहारले २ र प्रतिक भट्टराईले एक रन जोडे। नेपालले २६ रन अतिरिक्त प्राप्त गर्यो ।
मलेसियाका मोहम्मद अकरमले तीन तथा हजिक हाइकल, अरिन अक्ल र मुहम्मद फथुल मुइनले समान एक/एक विकेट लिए ।