logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ११ महिनामा ५२ खर्ब ५३ अर्ब तरलता प्रवाह

    ११ महिनामा ५२ खर्ब ५३ अर्ब तरलता प्रवाह

    1.6K
    Shares
    ११ महिनामा ५२ खर्ब ५३ अर्ब तरलता प्रवाह

    काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा नेपाल राष्ट्र बैंकले साढे ५२ खर्बभन्दा बढी तरलता प्रवाह गरेको छ ।

    राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत जेठ मसान्तसम्ममा रिपोमार्फत ४ खर्ब १४ अर्ब ४७ करोड, सोझै खरिद बोलकबोलमार्फत् ८९ अर्ब ७० करोड, स्थायी तरलता सुविधामार्फत २७ खर्ब २७ अर्ब ११ करोड र ओभरनाइट तरलता सुविधा २० खर्ब २१ अर्ब ८७ करोड गरी कुल ५२ खर्ब ५३ अर्ब १६ करोड तरलता प्रवाह गरिएको हो ।

    यो कारोबारमा आधारित तरलता प्रवाहको तथ्याङ्क हो । गत आर्थिक वर्षको सोही अवधिमा विभिन्न उपकरणहरुमार्फत राष्ट्र बैंकले ८५ खर्ब २२ अर्ब १० करोड तरलता प्रवाह गरेको थियो ।

    गत जेठ मसान्तसम्ममा रिभर्स रिपोमार्फत पाँच अर्ब तरलता प्रशोचन गरिएको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार अर्थात् वाणिज्य बैंकबाट छ खर्ब ८७ अर्ब ४२ करोड तरलता प्रवाह गरेको छ । यो अवधिसम्ममा अमेरिकी डलर ४ अर्ब ३० करोड बिक्री गरी ५ खर्ब ६२ अर्ब १९ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरिएको जनाइएको छ ।

    राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जाबाट गत जेठ मसान्तसम्ममा १ अर्ब ९६ करोड लगानी गरेको छ । जेठ मसान्तमा १ लाख ४७ हजार ५ सय १० ऋणीलाई प्रवाह भएको २ खर्ब ३ अर्ब १० करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको राष्ट्र बैंकले जनाएको छ ।

    यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ६१ हजार २ सय ३५ ऋणीलाई प्रवाह भएको १ खर्ब ३९ अर्ब ६८ करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८३ हजार ४ सय ५५ महिला उद्यमीलाई प्रवाह भएको ६० अर्ब ४६ करोड कर्जा बक्यौता छ ।

    सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत २ हजार ८ सय २० ऋणीको २ अर्ब ९७ करोड कर्जा बक्यौता रहेको छ । ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्‍याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा गत जेठ मसान्तमा ७२ करोड ५४ लाख बराबर बक्यौता रहेको छ ।
    –रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend