काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिज अन्तर्गत आज आफ्नो पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल बंगलादेशको ढाकामा नेपाली समय अनुसार बेलुकी सवा ५ बजेबाट सुरु हुनेछ । चीनमा आगामी सेप्टेम्बर–अक्टोबरमा हुने १९औं एसियन गेम्सको तयारी स्वरुप नेपालको महिला टोलीले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
गएको बर्ष साफ महिला च्याम्पियनसिपको फाइनलपछि नेपाल र बंगलादेशको महिला टिम पहिलो पटक खेल्न लागेको हो ।
त्यस समयमा काठमाडौंमै घरेलु टोली नेपाललाई ३–१ ले पराजित गर्दै बंगलादेश पहिलो पटक साफ च्याम्पियन बनेको थियो ।
यस पटक नेपाल त्यो पराजयको बदला लिने दाउमा छ । साफपछि नेपालले भारतले दुई मेत्रीपूर्ण खेल र भियतनामसँग ओलम्पिक छनोटमा दुई खेल खेलेको अनुभव छ ।
इजरायली क्लब हापोन रानानामा अनुबन्ध हुँदै युरोपियन लिग खेल्ने तयारीमा रहेकी नेपाली स्टार सावित्रा भण्डारीको लय नेपालको लागि सहयोगी बन्ने प्रशिक्षक अनन्त थापा र कप्तान एन्जिला तुम्बाप्पो सुब्बाको विश्वास रहेको छ ।
बंगलादेशले भने त्यसपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्ने छ । साफ विजयपछि मुख्य प्रशिक्षक गुलाम रब्बानी छोटोनले टिमबाट बाहिरिएका थिए भने बंगलादेशी टिममा अन्य खेलाडी समेत परिवर्तन भएका छन् ।