logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • गुल्मीको रेसुङ्गामा साउने मेला सुरु

    गुल्मीको रेसुङ्गामा साउने मेला सुरु

    1.4K
    Shares
    गुल्मीको रेसुङ्गामा साउने मेला सुरु

    गुल्मी । गुल्मीको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला सुरु भएको छ । साउन महिनाको पहिलो दिन आज सोमबारे औँसी परेकाले बिहानैदेखि रेसुङ्गामा क्षेत्रमा श्रद्धालुहरुको भिड लागेको हो । साउन महिनाभर रेसुङ्गा माहापोखरीमा स्नानगरी पोखरीमाथिको यज्ञशाला मन्दिरमा पूजाआजा गर्न मानिसहरुको भिड लागेको छ ।

    टाढा–टाढाबाट आउने भक्तजनको सुविधाका लागि रेसुङ्गा संरक्षण समितिले यस क्षेत्रमा साउन महिनाभर धार्मिक मेला सञ्चालन गर्दै आएको छ । अन्य महिनाको तुलनामा साउन महिनाको सोमवार धेरै मानिसको यस क्षेत्रमा आगमन हुँदै आएको छ ।

    साउन महिनाभर विशेष पूजाआजासहित धार्मिक मेला लाग्ने भएकाले माहापोखरीको जलले स्नान गर्ने र नजिकै रहेको यज्ञशाला मन्दिरमा पुगेर पुजाआजा गर्ने प्रचलन छ । यस क्षेत्रमा पुगेपछि चारधाम जान नपर्ने र आफूले अन्जानमा गरेका सम्पूर्ण पाप नष्ट हुने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका आधारमा विगत केही वर्षदेखि यहाँ आउने धार्मिक पर्यटकहरुको सङ्ख्या वृद्धि हुँदै आएको छ ।

    त्रेता युगदेखि यस क्षेत्रको महत्व हालसम्म पनि कायम रहेकाले यस क्षेत्रमा एक पटक पुगेपनि मनोकामना पूराहुने भएकाले यसको महत्व अझ बढ्दै गएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष शुरेसचन्द्र भुसालले जानकारी दिए ।

    सोही आस्था र विश्वासका कारण रेसुङ्गा क्षेत्रमा गुल्मी पाल्पा, बाग्लुङ्ग, अर्घाखाँची, स्याङ्जा, रुपन्देही, नवलपरासी, कपिलवस्तुलगायत जिल्लावाट आउने श्रद्धालुहरुको वर्षेनी घुईचो लाग्ने गर्दछ । साउन महिनाभर रेसुङ्गा संरक्षण समितिले यज्ञशालामा दिनहु होमसहित, रुद्री, गिता र चण्डी पाठ गर्नाका साथै श्रद्धालुहरु रातभर भजन किर्तनमा रमाउने गर्दछन् ।

    रेसुङ्गा नगरपालिकाले सुरु गरेको ‘जाउँ हिडौँ रेसुङ्गा’ अभियानसँगै विगत वर्षका तुलनामा यसपटक साउन महिनाभर ५० हजारभन्दा बढी श्रद्धालुलाई रेसुङ्गा क्षेत्रमा भित्र्याउने योजना रहेको नगरप्रमुख खिलध्वज पन्थीले बताए ।

    जिल्ला सदरमुकाम तम्घासदेखि सात किलोमिटरको दूरीमा रहेको उक्त ठाउँमा पुग्न सडक पक्की गरिएकाले झनै सहज बनेको छ । एक महिने धार्मिक मेलाले रेसुङ्गा क्षेत्र आन्तरिक एवं वाह्य धार्मिक पर्यटकका लागि थप गन्तव्य स्थल बन्ने भएको छ ।
    –रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend