logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • बागलुङ नगरपालिकाद्वारा आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना

    बागलुङ नगरपालिकाद्वारा आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना

    1.1K
    Shares
    बागलुङ नगरपालिकाद्वारा आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना

    बागलुङ । बागलुङ नगरपालिकाले आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरेको छ । केन्द्रमा एम्बुलेन्सका साथै दमकल, शववाहन, डोजर, ब्याक लोडर, उद्धार तथा राहतका लागि आवश्यक सामग्रीका साथै ‘फायर सिलिन्डर’लगायत सामग्री तयारी अवस्थामा राखेको छ ।

    नगरभित्र सडक पुगेका सबै बस्तीमा पुगेर बिरामीको उद्धार गर्ने उद्देश्यले नयाँ आर्थिक वर्षको सुरुवातसँगै केन्द्र स्थापना गरी केन्द्रबाट निःशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

    आर्थिक वर्ष २०७९/८० मा विनियोजित बजेटबाट नगरपालिकाले वडा नं २ मा आवश्यक उपकरण राख्ने र कर्मचारी बस्ने गरी ट्रस भवन निर्माण गरेको छ । नगर क्षेत्रमा हुने विपद् व्यवस्थापन गर्न पालिकाले पूर्वतयारीका लागि संरचना निर्माण गर्नुका साथै आवश्यक सामग्री तयारी अवस्थामा राखेको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताए । एम्बुलेन्स सेवा सञ्चालनमा आएसँगै अब कोही पनि नागरिक एम्बुलेन्स नपाएर अस्पताल नपुग्दै बाटोमै ज्यान गुमाउनु नपर्ने उनले बताए ।

    नगरभित्र हुने जुनसुकै विपद्मा परेकाको तत्काल उद्धार गर्ने गरी सम्यन्त्र तयार पारिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । दमकलका लागि १२ हजार लिटरसम्मको पानी १२ मिनेटमै भर्ने व्यवस्था गरिएको भन्दै उनले आगलागी, बाढी पहिरो र अन्य विपद्बाट हुने क्षति कम गर्न नगरपालिकाले पूर्वतयारी गरेको बताए । उनका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरी व्यवस्थापन गरिएको हो ।

    ‘बजार क्षेत्र होस् वा ग्रामीण क्षेत्र जुनसुकै ठाउँमा विपद् आइलाग्न सक्छ, त्यसबाट बच्नका लागि पूर्वतयारी त गर्नैप¥यो । सचेत हुँदाहुँदै पनि कहिलेकाहीँ अप्रत्याशित विपद् आइलाग्ने हुँदा हामीले अहिले आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरेका छौँ’, नगर प्रमुख श्रेष्ठले भने, ‘अहिले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका छौँ, दमकल र शववाहन पनि केन्द्रमा छन् । शववाहन प्रयोग गरेबापत केही शुल्क उठाउने छौँ, तर अति विपन्न र गरिबलाई भने यो सेवा पनि निःशुल्क हुनेछ ।’

    उपप्रमुख राजु खड्काले केन्द्रबाट चौबिसै घण्टा सेवा प्रदान हुने बताए । आवश्यक साधन र कर्मचारीलाई नवनिर्मित भवनमै व्यवस्थापन गरेको भन्दै उनले नगर क्षेत्रभित्र जहाँ समस्या आइपर्छ, त्यहाँबाट तत्काल टोल फ्री नं १८१०५०००१७० मा सम्पर्क गरेर सेवा लिन सकिने जानकारी दिए । आपत्कालीन कार्य सञ्चालन केन्द्र सञ्चालनका लागि करिब ४० लाख बढी खर्च भएको खड्काले बताए ।

    बाढी पहिराले सडक अवरुद्ध हुँदा डोजर, बिरामीका लागि एम्बुलेन्स र आगलागी हुँदा दमकल आवश्यक पर्ने हुँदा नगरपालिकाले कर्मचारीसहित आवश्यक सामग्री तयारी अवस्थामा राखेको उनको भनाइ थियो । यो सेवाको अहिले सुरुआती चरण रहेको भन्दै यसलाई थप व्यवस्थित बनाउनका लागि कार्यविधि बनाएर आगाडि बढ्ने योजना रहेको उपप्रमुख खड्काले बताए ।
    –रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend