काठमाडौं । श्रीलंका जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल यूएई ए विरुद्ध पहिला फिल्डिङमा उत्रिने भएको छ ।
कोलोम्बोमा यूएईले टस जितेर ब्याटिङ रोज्दै नेपाललाई पहिले फिल्डिङका लागि निम्तो दिएको हो ।
समूह बी मा यसअघि नै लगातार दुई खेल पराजय भोगिसकेका नेपाल र यूएई दुवै टोली यस खेलमा जित निकाल्ने रणनीतिमा छन् । नेपालले सिनियर टिम खेलाउँदा यूएईले भने युवा खेलाडीहरु सामेल गर्दै दोस्रो रोजाइको टिम खेलाएको छ ।
नेपाल र यूएई ए यसअघि पाकिस्तान ए र भारत ए सँग हारेका थिए ।
नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले हारको सामना गरेको थियो । यूएई भारतसँग ८ विकेट र पाकिस्तानसँग १८४ रनले पराजित भएको थियो ।
आजै भारत ए र पाकिस्तान ए बीच खेल हुनेछ । यस खेलले समूह विजेता र उपविजेता को बन्ने टुंगो लगाउने छ । समूह ए बाट श्रीलंका ए समूह विजेता र बंगलादेश ए समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरिसकेको छ ।