काठमाडौं । श्रीलंकामा जारी एसिसी इमर्जिङ टिम्स एसिया कपमा यूएई ‘ए’ विरुद्ध नेपालले दोस्रो सफलता पाएको छ । नेपाल र यूएईबीचको खेल कोलम्बोस्थित पी सारा ओभल मैदानमा भइरहेको खेलमा पवन सर्राफले १५.४ ओरभमा अंश टण्डनलाई ३ रनमा एल्बीडब्लु धरापमा पार्दै अर्को सफलता दिलाएका हुन् ।
नेपाललाई पहिलो सफलता कुशल मल्लले दिलाए । टिमलाई पहिलो सफलता दिलाउने दौरानमा उनले १०.२ ओभरमा विकेटकिपर आर्यन शर्मालाई १४ रनमा आउट गरे । कुशलले उनलाई पवनको हातबाट क्याच गराएका हुन् ।
टस हारेर फिल्डिङको ब्याटिङको आमन्त्रण पाएको यूएईले १६ अोभरमा २ विकेटको नोक्सानीमा ५२ रन बनाएको छ । यूएईविरुद्ध नेपालले प्लेइङ–११ मा चार खेलाडी परिवर्तन गरेको छ ।
नेपालले आज आसिफ शेख, भीम सार्की, ललितनारायण राजवंशी र सोमपाल कामीलाई विश्राम दिएर अर्जुन साउद, सन्दीप जोरा, प्रतिश जिसी र श्याम ढकाललाई अवसर दिएको हो ।
सेमिफाइनल दौडबाट हटिसकेका नेपाल र यूएई जित निकालेर आफ्नो यात्रालाई सुखद मोडमा पुगाउन चाहन्छन् ।
जारी प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेलमा पाकिस्तानसँग ४ तथा दोस्रो खेलमा भारत ‘ए’ सँग ९ विकेटले पराजयको सामना गरेको थियो। यस्तै, यूएई पाकिस्तानसँग १८४ रन तथा भारतसँग ८ विकेटले हारेको थियो ।