काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा साविक विजेता रहँदै आएको अमेरिकाले विजयी सुरुआत गरेको छ । न्युजिल्याण्डमा आज विहान भएको खेलमा अमेरिकाले भेतनाममाथि ३–० गोलको एकतर्फी जित हात पारेको हो ।
अकल्याण्डमा भएको खेलमा अमेरिकालाई विजयी बनाउन सोफिया स्मिथले २ गोल गर्दा लिन्ड्से होरानले एक गोल थप गरिन् । १४ औं मिनेटमा स्मिथले गोल गर्दै अमेरिकालाई अग्रतामा लगिन्।
पहिलो ४४ औं मिनेटमा अमेरिकाले अग्रता दोब्बर बनाउने मौका गुमाएको थियो । एलेक्जेन्ड्रा मोर्गानले प्रहार गरेको पेनाल्टी खेर जाँदा अमेरिकाले अग्रता ल्याउन चुकेको हो ।
तर, स्मिथले पहिलो हाफको अतिरिक्त सातौं मिनेटमा व्यक्तिगत र टिमका लागि दोस्रो गोल प्रहार गरिन् ।
यस्तै ७७ औं मिनेटमा लिन्ड्सेले गोल गरेपछि अमेरिका ३–० को सहजतापूर्वक नै प्रतियोगितामा विजयी सफलता चुम्यो । जितसँगै अमेरिकाले समूह ई मा ३ अंक जोडेको छ । यही समूहमा नेदरल्याण्ड्स, पोर्चुगल पनि रहेका छन् ।
अमेरिका महिला विश्वकपमा अहिलेसम्म चार पटक उपाधि चुमेको बलियो टिम हो । सर्वाधिक उपाधि हात पारेको अमेरिका यो संस्करण पनि उपाधि चुम्दै ह्याट्रिक गर्ने रणनीतिमा छ ।
अमेरिकाले २०१९ र २०१५ को उपाधि लगातार हात पारेको थियो भने १९९१ र १९९९ मा पनि उपाधि जितेको थियो । समग्रमा पाँचौं उपाधिको लक्ष्यका साथ महिला विश्वकपमा अमेरिका प्रतिस्पर्धामा होमिएको छ ।