logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • झापामा ७ सय क्युफिट सालको गोलिया काठ बरामद

    झापामा ७ सय क्युफिट सालको गोलिया काठ बरामद

    3.3K
    Shares
    झापामा ७ सय क्युफिट सालको गोलिया काठ बरामद

    झापा । झापाको मेचीनगरबाट ठुलो परिणाममा साल जातको गोलिया काठ बरामद गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्याल नेतृत्वमा गएको टोलीले शुक्रबार मध्यराती १२ बजे अनुमानित ७ सय क्युफिट गोलिया काठ बरामद गरेको हो।

    एसपी अर्याल नेतृत्वको टोलीले मेचीनगर नगरपालिका– १ स्थित कृष्णथुम्की मन्दिर नजिकैबाट सो परिणामको काठ बरामद गरेको हो।

    ‘कृष्णथुम्की नजिकैबाट गाडीका गाडी साल जातको काठ चोरी तस्करी भइरहेको सूचना पाए लगतै मेरै नेतृत्वमा गएराति टोली त्यहाँ पुगेको थियो । घटनास्थल पुग्दा एउटा जंगल पूरै फडानी गरी काठ लगिरहेको अवस्थामा फेला पर्‍यो।’ एसपी अर्यालले भने ।

    तस्करले ट्याक्टरमा लोड गरेर लैजाँदै गरेको अवस्थामा साल जातको गोलिया काठ सशस्त्र प्रहरीलाई देख्ने वित्तिकै ट्याक्टर छाडेर फरार भएका थिए ।

    सशस्त्रले तत्काल सो ट्याक्टरलाई नियन्त्रणमा लिएर तस्कर समूहको खोजी गर्दा थप एउटा ट्याक्टरसहित काठ फेला परेको उनले बताए। ‘त्यसपछि कृष्णथुम्की मन्दिर आसपास थप खोजतलास गर्दा अन्य जातको २०० क्युफिट काठ र करिब एक ट्रक साल र अन्य जातको लाथ्रा फेला परेको थियो,’ उनले भने।

    घटनास्थलबाट काठ चोरी तस्करी गर्ने व्यक्ति फेला नपरेपनि नियन्त्रणमा लिएको दुई वटा ट्याक्टर र काठ गरी करिब ४० लाख रुपैयाँ मूल्याङ्कन तोकेर जिल्ला डिभिजन वन कार्यालय झापा बुझाइसकेको उनले बताए।

    यता मेची सब डिभिजन वन कार्यालय मेचीनगरका रेन्जर कुलप्रसाद भट्टराईका अनुसार सशस्त्रले बरामद गरेको काठको विषयमा अनुसन्धान भइरहेको बताए। व्यक्तिगत वा सरकारी होस् साल जातको काठ वनको अनुमति बेगर काट्न पाइँदैन। ‘बरामद गरिएको काठ कृष्णथुम्की मन्दिर पछाडिको जमिनबाट काटेको देखिन्छ,’ उनले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend