काठमाडौं । फिफा महिला विश्वकप फुटबल २०२३ मा जापानले कोस्टारिकालाई पराजित गरेको छ ।
आज बुधवार न्युजिल्यान्डको फोर्सिथ बार स्टेडियममा भएको खेलमा जापानले कोस्टारिकालाई २–० गोलले हार चखाएको हो।
जापानका लागि हिकारु नोमोतोले खेलको २५ औँ र ओबा फुजिनोले २७ औँ मिनेटमा गोल गरिन् । जापान २ खेलमा ६ अङ्कसहित समूह ‘सी’ को शीर्ष स्थानमा रहेको छ । कोस्टारिका उति नै खेलमा अङ्कविहीन हुँदै पुछारमा रहेको छ ।
महिला विश्वकप फुटबलमा अहिले समूह ‘सी’ कै स्पेन र जाम्बियाबीच खेल भइरहेको छ । आजै बेलुकी पौने ६ बजे क्यानडा र आयरल्यान्ड प्रतिस्पर्धा गर्दै छन् ।
आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोली सहभागी रहेका छन्। फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा खेलाइने छ ।