काठमाडौं । फिफा महिला विश्वकपमा जापानले स्पेनमाथि ४–० को दर्विलो जित निकाल्दै समूह ‘सी’को विजेताको स्थान हाँसिल गरेको छ ।
अब क्वाटरफाइनल प्रवेशका लागि जापानले नर्वेसँग प्रतिस्पर्धा गर्नेछ। स्पेन २०१२ मा जर्मनीसँग ५–० को पराजित भएयता सर्वाधिक फराकिलो हार भागेको हो। पराजयका बाबजुत यसअघि नै नकआउट पुगेको स्पेन समूहको उपविजेतामा चित्त बुझायो ।
२०११ को विश्व च्याम्पियन जापानले स्पेनविरुद्ध पहिलो हाफमा नै ३ गोलको अग्रता कायम गरेको थियो। जापानलाई फराकिलो जिततर्फ पुर्याउनका लागि हिनता मियाजावाले २ गोल गरिन्। २ गोलसँगै मियाजावा प्रतियोगितामा ४ गोल गर्दै अहिलेसम्मकी सर्वाधिक गोलकर्तासमेत बनिन्।
यसअघि उनले आफ्नो पहिलो खेलमा जाम्बियाविरुद्ध पनि ३–० को जित निकाल्दा २ गोल गरेकी थिइन्। मियाजावाले १२ र ४० औँ मिनेटमा गोल गर्दा अर्को एक गोल रिको उकले ३९ औँ मिनेटमा गरेकी थिइन्।
दोस्रो हाफमा सम्हालिने प्रयास गरेको स्पेनविरुद्ध सब्सटिच्यूट मिना टनकाले ८३ औं मिनेटमा चौंथो गोल गरेकी थिइन्। अब जापानले क्वाटरफाइनल प्रवेशका लागि १९९५ को विश्वविजेता नर्वेविरुद्ध वेलिङ्डनमा खेल्ने छ ।
नर्वे समूह ‘ए’को उपविजेताका रुपमा नकआउटमा स्थान बनाएको थियो। उपविजेता बनेको स्पेनले अकल्यान्डमा समूह ‘ए’ को विजेता स्वीट्जरल्यान्डसँग भिड्ने छ ।
समूहमा नै भएको अर्को खेलमा प्रतियोगिताबाट बाहिरिएको जाम्बियाले कोस्टारिकालाई ३–१ ले पराजित गर्दै प्रतियोगिताको सुखद यात्रा तय ग¥यो ।