logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • काभ्रेपलाञ्चोकको मनाइयो कोदो दिवस २०८०

    काभ्रेपलाञ्चोकको मनाइयो कोदो दिवस २०८०

    2K
    Shares
    काभ्रेपलाञ्चोकको मनाइयो कोदो दिवस २०८०

    धुलिखेल । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ स्थित कालिकास्थानमा कोदो रोपेर कोदो दिवस २०८० मनाइएको छ ।

    ‘कोदोका बहारः दिगो, पौष्टिक र स्वादिष्ट आहार’ भन्ने नाराका साथ मण्डनदेउपुरस्थित स्थानीय मिलन महिला कृषक समूह र राष्ट्रिय कृषक समूह महासङ्घ नेपालको संयुक्त आयोजना तथा मण्डनदेउपुर नगरपालिका, संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन र केयर नेपालको सहकार्यमा सोमबार तेस्रो ‘कोदो दिवस २०८०’ मनाएको हो ।

    कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका सदस्य विष्णुमाया ओझाले कोदोको महत्व सबैलाई बुझाएर कृषि उत्पादनलाई थप व्यवस्थित गर्न र कृषि ऐन बनाएर अगाडि बढ्न आवश्यक रहेको बताए। स्वास्थ्यसँग सम्बन्धित भएको र यसको महत्व धेरै रहेकाले उत्पादन गर्ने कृषकलाई पनि यसको महत्वका बारेमा बुझाउन आवश्यक रहेकामा उनले जोड दिए।

    ‘उत्पादन गरेको कोदोलाई खपत गर्न थालेनौं भने पनि यसको उत्पादनमा ध्यान नदिइने भएकाले त्यसको खपतका लागि स्थानीय सरकारले अभियान थालनी गर्नुपर्ने हुन्छ’, सदस्य ओझाले भने, ‘यसको प्रचारप्रसारका लागि सबैजना लाग्यौँ भने सम्भव छ ।’ सो क्रममा उनले कृषिमा परनिर्भर मात्रै भएर बस्ने नभई यसलाई व्यावसायिकरुपमा अगाडि बढाउन सके निर्यातसमेत गर्न सकिने सम्भावना रहेकाले युवाहरुलाई कोदो उत्पादनमा जोड दिन आग्रह गरे।

    नगरप्रमुख टोकबहादुर वाइबाले कृषिमा आधारित नगरपालिका भएकाले कृषिलाई प्राथमिकता दिँदै व्यवहारमा पनि लागू गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताए । सबैजसो ठाउँमा फल्ने बाली कोदो भएको र यो बहुउपयोगी पनि भएकाले कोदोलाई लोप हुन नदिन सबैको हातेमालो आवश्यक रहेकामा उनले जोड दिए ।

    कृषि विभागका महानिर्देशक डा हरिबहादुर केसीले सरकार कृषि ऐन बनाउने तयारीमा रहेको बताउँदै रैथाने बालीहरुलाई निश्चित पकेट क्षेत्रबनाउन कानुनमै व्यवस्था गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए । उनले बजेट बनाउन र कार्यक्रम बनाउन सहज हुने भएकाले छोड्दै गएको कोदो बालीको खेतीलाई बढावा दिन कृषकहरुलाई नै जागरुक गराउनु पर्नेमा जोड दिए ।

    राष्ट्रिय कृषि नीति पनि परिमार्जनको अन्तिम चरणमा पुगेको उल्लेख गर्दै महानिर्देशक कार्कीले रैथाने बाली र जलवायुमैत्री प्रविधिलाई प्राथमिकतामा राखिएको र यसमा सङ्घ, प्रदेश र स्थानीय सरकारलाई पनि जोडेर अगाडि पर्नुपर्नेमा जोड दिए ।

    बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका डा रामकृष्ण श्रेष्ठले कोदोको विविध परिकार बनाएर उपयोगिताको माध्यम बनाउन सके बालबालिकादेखि सबैको उपयोगी खाद्य वस्तुका रुपमा विकास गर्न सकिने बताए । पालिकाहरुसँग मिलेर रैथाने बाली संरक्षण अभियानमा लागिएकोे उल्लेख गर्दै उनले गत आर्थिक वर्षमा एक सय ३३ पालिकामा अनुदान प्रदान गरी रैथाने बाली प्रवद्र्धनमा लागिएको र यस आर्थिक वर्षदेखि एक सय ६७ पालिकामा पुग्ने तयारीमा रहेको उल्लेख गरे ।

    राष्ट्रिय कृषक समूह महासङ्घ नेपालका अध्यक्ष नवराज बस्नेतले किसानको प्रमुख भोजनका रुपमा चिनिएको कोदो लोप हुँदै गएको अवस्थामा यसको महत्व बुझाएर उत्पादनमा जोड दिन र प्रचार गर्न २०७८ सालदेखि कोदो दिवस मनाउन थालिएको बताए। पहिलो कोदो दिवस २०७८ मा काठमाडौँमा, दोस्रो पटक मकवानपुरको भीमफेदी गाउँपालिकामा र तेस्रो काभ्रेपलाञ्चोकको मण्डनदेउपुरमा मनाइएको उनले बताए ।

    कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद दवाडीले विद्यालयका खाजा कार्यक्रममा कोदोजन्य रैथाने बालीको परिकारलाई बजारीकरण गर्न स्थानीय सरकार लाग्न आवश्यक रहेको बताए ।

    कार्यक्रममा संयुक्त राष्ट्रसङ्घीय खाद्य र कृषि सङ्गठनका अर्जुन थापा, केयर नेपालका प्रकाश सुवेदी र अनाज नेपालका अध्यक्ष करिण आचार्यलगायतले कोदोको महत्व, संरक्षण र विकासका बारेमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

    सो क्रममा मिलन महिला कृषक समूहका अध्यक्ष सुन्तली रोक्काको बारीमा सहभागीहरुले कोदो रोपेर सो दिवस मनाएका थिए । महासङ्घले यसलाई तीन वर्षदेखि दिवसका रुपमा अभियान अगाडि बढाउँदै आएको छ ।
    –रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend