
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को चालु बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यहरुले अध्यक्ष प्रचण्डकै कारण पार्टी खुम्चिदै गएको बताएका छन् । केन्द्रीय सदस्य गोपाल शर्माले प्रचण्डकै नेतृत्वमा बनेको संगठन प्रचण्डकै नेतृत्वमा विघटन हुने ठाउँमा पुगेको बताए।
२३८ सांसद चुन्ने भीमकाय पार्टी पनि तपाईंकै नेतृत्वमा बनेको हो। ३२ सिटमा पनि तपाईंले नै खुम्च्याउनुभएको हो, शर्माले भने, पार्टीलाई नेतृत्व दिने अरू पनि छन्। अब तपाईंले छोड्नुपर्छ।
उनले प्रचण्डको प्रतिवेदनले आशा जगाएको भए पनि यस्ता प्रतिवेदन धेरैपटक आएकाले कार्यान्वयन हुन्छ भन्नेमा शंका लागेको बताए।
त्यस्तै झक्कु सुवेदीले विचारमा गल्ती नगर्ने तर संगठनमा गल्ती गर्ने प्रचण्डको शैली नै भएको टिप्पणी गरे।
बारम्बार विधान संशोधन गरेर केन्द्रीय सदस्य थपेको प्रति पनि उनले प्रचण्डको आलोचना गरे।
देशको संविधानजस्तै पार्टीको विधान हो। मिच्न पाइन्छ ? ६ सय जना थेग्ने हैसियतको पार्टी हो यो ? के गरेको ? सुवेदीले भने, अरूलाई दोष दिएर हुँदैन।
बैठकको सुरुमा बोल्ने सदस्यहरुले पार्टीमा परिवारवाद लादिएको, बालुवाटार सामन्तवादको प्रतिक बनेको र नवयुवराज, युवराज्ञी जन्मेको आरोप लगाएका थिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend