काठमाडौं । पछिल्लो एक महिनादेखि गोलभेँडाको मूल्य दिनप्रतिदिन आकासिएको छ ।
झण्डै डेढ महिनाअगाडि असार ३ गते गोलभेँडा उत्पादन गर्ने किसानले गोलभेँडा प्रतिकेजीको मूल्य सात र आठ रुपियाँ पनि नपाएर कालीमाटी बजारभित्रै फ्याँकेर विरोध गरे । हुन पनि गोलभेँडा प्रतिकेजी उत्पादन गर्दाको लागत ३५ रुपियाँ भन्दा बढी पर्न जान्छ ।
उपत्यकाका उत्पादक किसानले सबैभन्दा ठुलो तरकारी बजारसम्म आइपुग्दा पनि उचित मूल्य नपाएपछि सडकमा फ्याँकेर विरोध गरेका थिए तर अहिले भने गोलभेँडाको भाउ अहिलेसम्मकै उच्च मूल्य प्रतिकेजी मूल्य १८० रुपियाँ थोकमै पुगेको छ ।
त्यस समय कालीमाटी बजारमा गोलभेँडाको मूल्य सात,आठ रुपियाँ मात्रै थियो । अहिले त्यही बजारमा गोलभेँडाको न्यूनतम मूल्य ११५ रुपियाँ र अधिकतम मूल्य १८० रुपियाँ पुगेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार शनिवार मात्रै सानो गोलभेँडाको भाउ प्रतिकेजी ११५ रुपियाँ थोक मूल्य कायम गरिएको छ भने ठुलो गोलभेँडाको मूल्य प्रतिकेजी १८० रुपियाँ रहेको छ ।
नेपालमा मात्रै होइन भारतमा पनि गोलभेँडाको मूल्य आकाशिएको छ । भारतमा यतिबेला ४०० रुपैयाँ प्रतिकिलो कारोबार भइरहेको छ ।