logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • कांग्रेस नेता भण्डारीको आज शल्यक्रिया हुँदै

    कांग्रेस नेता भण्डारीको आज शल्यक्रिया हुँदै

    2.8K
    Shares
    कांग्रेस नेता भण्डारीको आज शल्यक्रिया हुँदै

    काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीको आज पुनः शल्यक्रिया गरिने भएको छ ।

    करिब छ महिना अगाडि आगलागीमा परी घाइते भएका उनको आज कीर्तिपुरस्थित बर्न सेन्टरमा हात र पछाडिको भागको शल्यक्रिया हुन लागेको अस्पतालका प्रमुख प्रा डा शङ्कर राईले जानकारी दिए ।

    पूर्वनिर्धारित उपचार प्रक्रियाअनुसार नै उनको शल्यक्रिया गर्न लागिएको अस्पतालले जनाएको छ ।

    उनको शल्यक्रियाका लागि क्यानडाबाट अमेरिकीमूलका चिकित्सक डा तिमोथी स्प्रौलसमेत आएका अस्पतालका प्रमुख डा राईले बताए। नेता भण्डारीले आफ्नो उपचारका लागि राज्यले दिएको रकम पनि फिर्ता गर्ने घोषणा गरेकाले डा स्प्रौल आफ्नै खर्चमा डा भण्डारीको शल्यक्रिया गर्न आएको जनाइएको छ ।

    डा स्प्रौललाई परराष्ट्रमन्त्री एनपी साउद र स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वागत गर्दै धन्यवाद ज्ञापन गरेका डा भण्डारीका सहयोगी वोधराज कँडेलले जानकारी दिए ।

    डा भण्डारीको शल्यक्रिया डा स्प्रौलसँगै प्रा डा बिडी झा, प्रा डा शङ्करमान राई, सहप्राध्यापक किरण किशोर, डा अनुप सुवेदी, डा प्रदीप राजभण्डारी, डा प्रविन गिरी, डा निजिना ताम्राकार र मोहनकृष्ण डङ्गोलसहितको टोलीले गर्नेछ ।

    गत फागुन ३ गते राति आगलागीमा परेका सांसद डा भण्डारीको सुरुमा कीर्तिपुर बर्न सेन्टरमै उपचार गरी थप उपचार भारतको मुम्बइमा रहेको नेसनल बर्न सेन्टरमा गराइएको थियो । भारतमा ७३ दिन उपचार गराएर फर्किएपछि उनको गत वैशाख १९ गतेदेखि काठमाडौँको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको थियो ।

    कीर्तिपुर बर्न अस्पतालका प्रमुख डा राईसँग परामर्श र निगरानीमा नै उनलाई फ्रन्टलाइनमा उपचार गराइएको थियो । अस्पतालमा उनलाई फिजियो थेरामी, ड्रेसिङलगायतका उपचार गराइएको थियो ।

    उनको उपचारका लागि अस्पतालले पनि शुल्क नलिने घोषणा गरेको थियो । राज्यले दिएको रकम फिर्ता दिएकाले उनलाई सहयोग गर्न चाहनेहरू झन् बढेको उनका निकटस्थहरूले बताएका छन् ।
    –रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend