
काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय प्रदीप गिरी पार्टीमा कदमजम (कर्णाली, दलित, महिला, जनजाति, मधेसी) भित्र्याउने नेता भएको बताएका छन् ।
स्कुल अफ डेमोक्रेसीले स्वर्गीय नेता गिरीको स्मृतिमा सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेता गिरी साँचो अर्थमा नेपालको पछाडि परेका समुदाय र क्षेत्रको नेता भएको दाबी समेत गरे ।
गिरीलाई बिपी पछिको समाजवादको व्याख्या गर्न सक्ने नेताको रुपमा चित्रण गर्दै सभापति देउवाले उनका विचारहरुलाई सबै राजनीतिक पार्टीहरुले अनुशरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
समाजवाद भनेको प्रजातन्त्रसहितको हुने कुरामा विश्वमा कहीँ पनि विमति नरहेको जिकिर गर्दै उनले त्यस विचारको पनि नेता गिरी पक्षपाती रहेको बताए ।
सभापति देउवाले भने, ‘समाजवादबारे भन्ने हो भने उहाँ धेरैनै बुझेको मानिस हुनुहुन्थ्यो । वास्तवमा भन्ने हो भने विपी पछाडिको समाजवाद बुझेको नेता, समाजको व्याख्या गर्नसक्ने, भन्न सक्ने नेता प्रदीप जी हुनुहुन्थ्यो । उहाँ पनि हाम्रो बीचमा हुनुहुन्न । त्यसैले उहाँले लेखेका कुराहरु छन । उहाँका विचारहरु छन् । ती कुराहरुलाई हामीले, राजनीतिक पार्टीहरुले कम्पायल गरेर लैजानुपर्छ । प्रदीप गिरीजी बारे धेरै नेताहरुले भनिसक्नु भयो । मलाई केही भन्नु छैन । एउटा कुरा के छ भने प्रदीप गिरीजी समाजबादबारे धेरै ठूलो ज्ञान भएको व्यक्ति हो । उहाँ प्रजातन्त्रको पक्षमा हुनुहुन्थ्यो । प्रजातन्त्रसहितको समाजवाद उहाँले भन्नुभएको हो । संसारभरमा डेमोक्रेसीसहितको समाजवादलाई विश्वास गरिएको छ । त्यसैले डेमोक्रेटिक सोसलिज्म भनेपनि हुन्छ । त्यसको पक्षपाती पनि हुनुहुन्थ्यो उहाँ । उहाँ चाँही धेरै ठूलो व्यक्तित्व हो नेपालको । काँग्रेसलाई कदमजम (कर्णाली, दलित, महिला, जनजाति, मधेसी) दिने व्यक्ति पहिलो व्यक्ति हुनुहुन्थ्यो प्रदीप गिरीजी ।’
सभापति देउवाले समाजवादबारे गिरीले धेरै कुरा बुझेकाले सोही मान्यताको आधारमा अघि बढ्न आवश्यक रहेको समेत बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend